काठमाडौं- नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ।
दुर्गमबाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन तोकिएको नयाँ मूल्य रु. २ हजार १०० लागू भएको छ।
यसअघि संघले ग्यास बिक्रेताले फरकफरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो।
आजबाट लागू हुने गरी दुर्गम बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य तय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए।
उनका अनुसार उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए पनि ग्यासका डिलरअनुसार मूल्य फरकफरक रहेपछि मूल्य तोकिएको हो। नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने संघले जनाएको छ।
संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिनसमेत अुनरोध गरेको छ। रसिद नलिएका सिलिण्डरको दायित्व उद्योगले नलिने समेत जनाइएको छ।
संघले तोकेको नयाँ मूल्यअुनसार १०० रुपैयाँ बिक्रेताका लागि छुट्टाइएको छ। संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको भन्दै साटेको थाहा भएमा कारबाही गर्ने जनाएको छ। रासस