आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भ्याट नतिर्नेको सूचीमा बन्द भएका कम्पनी पनि, विभाग भन्छ– कालोसूची होइन

भ्याट नतिर्नेको सूचीमा बन्द भएका कम्पनी पनि, विभाग भन्छ– कालोसूची होइन

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि बहालवाला कार्यसमिति सदस्यहरुकै कम्पनीले पनि भ्याट बुझाएका छैनन्।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर सम्पर्कविहीन भएका करदाताको विवरण सार्वजनिक गरेको छ। भ्याटको विवरण नबुझाउनेमा विदेशी नागरिकले लगानी गरेका कम्पनी पनि छन्।

विभागले नेपालमा दर्ता भएर पनि भ्याट नतिर्ने र कुनै विवरण सार्वजनिक नगर्ने करिब २०० विदेशी कम्पनीको पनि विवरण सार्वजनिक गरेको हो।

विभागले दशौं वर्षदेखि कर विवरण नबुझाएका २९ हजार ४४७ करदाताको नाम सार्वजनिक गर्दा उनीहरुको नाम पनि सार्वजनिक भएको हो। भ्याट नबुझाउने विदेशी कम्पनीहरुमा चिनियाँ, कोरियन र जापानी कम्पनी छन्। त्यस्तै जर्मन, अमेरिकन, भारतीय नागरिकले पनि कम्पनी खोलेर भ्याट नबुझाएको पाइएको छ।

त्यसैगरी विभागले सार्वजनिक गरेको विवरणअनुसार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि बहालवाला कार्यसमिति सदस्यहरुकै कम्पनीले पनि भ्याट बुझाएका छैनन्। महासंघका पूर्वअध्यक्ष सुरज वैद्यका विभिन्न कम्पनीले पनि वर्षौंदेखि भ्याट नतिरेको देखिएको छ। वैद्यको नाममा रहेको निर्वाणा टी प्रोसेसिङ एण्ड प्याकेजिङ प्रालि, नेको एलायन्स र सुजाकी इन्कर्पोरेटेडले पनि भ्याट बुझाएका छैनन् । 

वहालवाला कार्यसमिति सदस्य मनिषकुमार अग्रवालका तीनवटा कम्पनीहरु जीवनज्योति ट्रेड इम्पेक्स, काजल केमिकल्स, बैष्णवी इन्टरनेशनल ट्रेड सेन्टरले भ्याट बुझाएका छैनन् । अर्का सदस्य अविनाश बोहराको नाममा भ्याटमा दर्ता भएको प्रिमियम सिन्थेटिक्सले पनि भ्याट बुझाएको छैन । 

त्यस्तै व्यवसायी वसन्तकुमार चौधरीको नाममा रहेको इम्प्याक्ट इन्टरनेशनलले भ्याट बुझाएको छैन । अर्का व्यवसायी श्रीनिवास शारदाको नाममा रहेको स्वदेशी तेल उद्योग, लायन रबर इन्डस्ट्रिजले पनि भ्याट बुझाएका छैनन् । 

त्यस्तै भ्याट नतिर्नेहरुमा सांसद बहादुर सिंह लामा, निर्माण व्यवसायी शारदा अधिकारी, अभिनेतृ झरना थापा, गायक उदय सोताङ, निर्मल प्रधान, पर्यटन व्यवसायी प्रचण्डमान श्रेष्ठलगायतका कम्पनी भ्याटमा दर्ता भए पनि वर्षांदेखि सरकारलाई भ्याट नतिरेको पाइएको छ।

आन्तरिक राजस्व विभागले दर्ता खारेज भइसकेका कम्पनीलाई पनि भ्याट तिर्नका लागि ताकेता गरेको पाइएको छ। खारेजीमा परिसकेका कैयाैं कम्पनीहरुको नाम पनि भ्याट तिर्न बाँकी कम्पनीमा समावेश छ। विभिन्न कम्पनीहरुले आफूले कारोबार नगरी बन्द गराएको कम्पनीहरुको नाम पनि पुनः भ्याट तिर्नका लागि भन्दै विवरण सार्वजनिक गरेको प्रति दुःख लागेको जनाएका छन् । 

व्यवसायी वसन्त चौधरीेले विभागले आफ्नो नामको कम्पनीले भ्याट नतिरेको भन्दै आफ्नो नाम समेत सार्वजनिक गरेकोप्रति खेद प्रकट गरेका छन्। उनले आफ्नो नाममा रहेको इम्प्याक्ट इन्टरनेशनलले २०७१ सालमा नै आन्तरिक राजस्व कार्यालय न्युरोडमा सम्पूर्ण हिसाव किताव बुझाएर कम्पनी खारेज गरेको बताएका छन्। 

त्यस्तै शारदा मल्लले टंगालमा दर्ता गरेको अल्टिमेट अब्रोड स्टडी प्रा.लि २०७२ सालमा नै आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट दर्ता खारेजी गरी अमेरिका बसाइँ सरिसकेको दाबी गरेकी छन्। 

यता आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले भने आफूहरुको सिस्टममा नदेखिएकोले सूचना सार्वजनिक गरिएको र कम्पनी खारेजीको प्रमाण प्राप्त भएमा सो कम्पनीविरुद्ध लिइने थप स्टेपबाट पछि हट्ने बताए।

उनका अनुसार अहिले सार्वजनिक गरिएको विवरण सबैलाई सतर्क गराउन र भ्याट तिर्न आउनका लागि हो। यसलाई नै कालोसूची भनेर बुझ्न नहुने उनको तर्क छ। सूचना जारी गर्दा पनि भ्याट तिर्न नआएको खण्डमा भने ती कम्पनीहरुलाई कालोसूचीमा राखिने पाण्डेले जानकारी दिए । 

उनले कुनै कम्पनीले सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाई नयाँ कम्पनी खोलेर कारोबार गरिरहेको जानकारी आएमा राजस्व छलीमा कारबाही गरिने बताए। आन्तरिक राजस्व कार्यालयले फागुन मसान्तसम्ममा भ्याट तिर्न बाँकी करदाताले विवरण पेश गरेमा हालसम्मको कर र सोको ब्याजमा ५० प्रतिशत छुट हुने पाण्डेले जानकारी दिए। 

प्रकाशित: Oct 14, 2020| 10:16 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्