पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय उत्पादनलाई बढवा दिएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अभियान नारामा सिमित भएको बताएका छन्।
उनले नारा आत्मनिर्भरताको लगाए पनि व्यवहारमा सबै वस्तुमा परिनिर्भरता बढेको टिप्पणी गरे।
चेम्बर दिव ०७७ तथा नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष प्रवेशको अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीले प्रकाशन गरेको ‘संघीयतामा समृद्धि’ स्मारिका ०७७ को विमोचन गर्दै मुख्यमन्त्री गुरुङले विदेशी आयातलाई प्रतिस्थापन गर्दै स्थानीय उत्पादनलाई बढवा दिनुपर्नेमा जोड दिए।
‘नेपालका उद्योगी व्यवसायीका संस्था विदेशी उत्पादनलाई बिक्री गर्ने बजार प्रतिनिधि बन्ने होइन,’ मुख्यमन्त्री गुरुङले भने, ‘स्वदेशी प्रविधि र सीपको विकास गरेर स्थानीय कच्चा पदार्थमा आधारित उद्योग खोल्नको लागि ध्यान दिने हो।’
उनले नेपालका उद्योगी व्यवसायीले विदेशी औषधीलगायतका वस्तुहरूको बजारीकरण गर्नेभन्दा स्थानीय उत्पादनका जोड दिनुपर्ने बताए।
उत्पादन, व्यापार र उद्योग चलाउने काम निजी क्षेत्रको भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले लगानी संरक्षण, नीति निर्माण र नियमन गर्ने जानकारी दिए।
‘बन्दुक बारुद, हातहतियार, खरखजनाको उत्पादनलगायत सुरक्षा क्षेत्रमा सरकारले गर्छ,’ उनले भने, ‘सरकारले नीतिगत व्यवस्थामात्र गर्ने हो, सबै उत्पादनको काम निजीक्षेत्रको दायित्वमा पर्छ।’
मुख्यमन्त्री गुरुङले सरकारले उद्योग, वाणिज्य र पर्यटनको क्षेत्रमा प्रयाप्त काम गर्न नसकेको उल्लेख गरे।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले विदेशीले उत्पादन गरेको सामान ल्याएर बेच्ने भन्दा उत्पादनमुखी अर्थतन्त्रको विकासमा लाग्न सबैमा आग्रह गरे।
कार्यक्रममापोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किसान सुनारले सरकार र निजी क्षेत्रबीच पुलको काम गरेको चेम्बरले राज्यलाई नीतिगत सुझाव दिएको उल्लेख गरे।
उनले गण्डकी प्रदेशको समृद्धिसँग जोडेर स्मारिका प्रकाशन गरेको बताए । पोखरा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष तथा स्मारिका प्रकाशन समिति संयोजक गिता तिवारी गौतम, महासचिव उमराज बास्तोला लगायतले स्मारिकाको बारेमा बोलेका थिए।