पोखरा– गण्डकी प्रदेशमा १५ महिनामा २ सय ११ अनैतिक व्यवहारका घटना प्रहरीमा दर्ता भएका छन्।
चालु आर्थिक वर्षको ३ महिनामा जबरजस्ती करणीका ५० घटना प्रहरी कार्यालयमा दर्ता भएका हुन्।
सबैभन्दा बढी कास्कीमा १७ घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ। प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्यांकअनुसार २४ असोजसम्म गोरखामा ८, लमजुङमा ७, तनहुँमा ६, नवलपुरमा ४, बागलुङमा ३, म्याग्दीमा २, पर्वतमा २ र मुस्ताङमा १ घटना भएका छन्।
प्रदेशभर साउनयता बलात्कार प्रयासका १२ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयकी सूचना अधिकारी एसएसपी किरण रानाले जानकारी दिइन्।
पछिल्लो ३ महिनामा भएका घटनामध्ये १० प्रतिशत घटना आफन्तबाटै भएको पाइएको छ।
५० मध्ये ५ जना आफन्तबाटै बलात्कृत भएको प्रहरीको तथ्यांकले देखाउँछ। साउनयता नवलपुर र गोरखामा २–२ तथा तनहुँमा १ घटना हाडनाता करणीका भएको प्रहरीको भनाइ छ।
चालु आर्थिक वर्षको साउनमा २०, भदौमा २१ र असोजमा ९ घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
गत आर्थिक वर्षमा प्रदेशभर जबरजस्ती करणीका १ सय ६१ घटना भएको प्रदेश प्रहरी कार्यालय पोखराको तथ्यांकमा उल्लेख छ।
कास्कीमा ६३, नवलपुरमा १६, लमजुङमा १०, बागलुङ र गोरखामा १३, तनहुँमा १६, स्याङ्जामा १२, म्याग्दीमा ८, पर्वतमा ७, मुस्ताङमा २ र मनाङमा १ घटना भएका छन्। गत आवमा ११ प्रतिशत घटना आफन्तबाटै भएका छन् ।
गत वर्षका १ सय ६१ मध्ये १३ घटना हाडनाता करणीका रहेको एसएसपी रानाले बताइन्।
गत आर्थिक वर्षमा कास्कीमा ३, गोरखा, लमजुङ र बागलुङमा २, तनहुँ, स्याङ्जा, म्याग्दी र नवलपुरमा १÷१ घटना हाडनाता करणीका रहेको एसएसपी रानाले जानकारी दिइन्।
कोरोनापछि घटनामा वृद्धि
महिला, बालबालिका र मानवअधिकारको क्षेत्रमा क्रियाशील बिना सिलवाल बालिका बलात्कारका घटना पहिला पनि हुने गरेकामा कोभिड १९ पछि भने झनै बढेको बताउँछिन्।
बलात्कारका घटना बढ्नुका साथै बाहिर आउने क्रम पनि बढ्दो रहेको उनको भनाइ छ।
घरपरिवार, समाजसँगको दुरी बढ्दै जानु र सामाजिक सञ्जालको प्रयोगले पनि यस्ता घटना बढाएको उनको बुझाइ छ।
उनले भनिन्, ‘किशोरीहरू पहिला सानो उमेरमा विवाह गर्थे। कानुनले विवाह गर्ने उमेर बढायो, एकअर्काप्रति आकर्षण हुने उमेरमा संस्कारले लभ गर्ने वातावरण सिर्जना गरेन।’
उनका अनुसार गरिबी र आर्थिक कठिनाइ भएका युवतीलाई लोभ देखाएपछि फसेर यस्तो घटनामा परेका छन्।
बलात्कार, यौनजन्य हिंसालाई कानुनले जघन्य अपराध भने पनि यस्ता घटनालाई ढाकछोप गर्ने संस्कार अझै पनि विद्यमान रहेकाले बलात्कारका घटना बढेको उनले बताइन्।