तनहुँ- गाउँमा हुने विवाद गाउँमै मिलाउन तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ।
विवाद वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो।
स्थानीय स्तरमा हुने स–साना झगडा, विवादलगायत घटना पालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक पुष्पादेवी श्रेष्ठले जानकारी दिइन्।
स्थानीय शासन ऐन, २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ। उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहेका छन्।
न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ।
गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पुष्पादेवी श्रेष्ठले बताइन्।
‘मेलमिलापसम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेका छौं,’ उनले भनिन्, ‘समुदायमा हुने विवादलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुग्नेछ।’
आँबुखैरेनी गाउँपालिका १ मा पवन नेपाली, २ मा बासुदेव थापा, ३ मा नारायण गिरी, ४ मा मिनशोभा गुरुङ, ५ मा चतुरे मगर र ६ मा जङ्गबहादुर गुरुङ मेलमिलाप संयोजकमा रुपमा नियुक्त भएका छन्। प्रत्येक वडामा चार जना महिला र तीन जना पुरुष मेलमिलापकर्ताको रुपमा छन्।
मेलमिलापकर्तालाई सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आँबुखैरेनी गाउँपालिका र जाइका नेपालले ६ दिने प्रशिक्षण प्रदान गरेको थियो।गाउँपालिकाको न्यायिक समितिमा २०७५–७६ देखि हालसम्म ७० वटा उजुरी दर्ता भएकोमा ६९ उजुरीको समाधान गरिएको छ।