काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) का कारण ६६.२२ प्रतिशत माइक्रोफाइनान्सका ग्राहकले ऋण तिर्न नसक्ने एक अध्ययन देखाएको छ।
सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) ले गत चैत र वैशाख महिनाभरको प्रभाव अध्ययन गर्दा सहरी क्षेत्रका ६८.६३ प्रतिशत र ग्रामीण भेगका ६३.८१ प्रतिशत माइक्रोफाइनान्सका ग्राहकले उनीहरुले लगेको ऋण तिर्न नसक्ने देखाएको छ।
९ प्रतिशत ग्राहकले मात्र माइक्रोफाइनान्सबाट लगेको ऋण सहजै तिर्न सक्ने अवस्था रहेको पनि सो अध्ययन देखाएको छ। माइक्रोफाइनान्स संस्था र विभिन्न शाखामा गरी १५०४ वटामा गरिएको संस्थाले जनाएको छ।
त्यस्तै लकडाउनको अवधिमा माइक्रोफाइनान्सहरुले ५ प्रतिशत कर्मचारी कटौति गरेका छन् भने ३७ प्रतिशत कर्मचारीहरु पार्टटाइम बनाइएका छन्। ११ प्रतिशतको तलब घटाइएको छ भने २६ प्रतिशत कर्मचारीहरुको तलब बृद्धि गरिएको सो अध्ययनले देखाएको छ।
लघुवित्त सञ्चालनमा नै समस्या
विपन्न वर्गलाई समूहमा आवद्ध गराई वित्तीय सेवा प्रदान गर्ने लघुवित्त सञ्चालन मोडलमा कोभिड–१९ का कारण समस्या भएको छ। कोभिडको संक्रमणबाट बच्नका लागि स्वास्थ्य विज्ञहरुले सामूहिक भेटघाट तथा भेला नगर्न सुझाव दिएपछि लघुवित्त संस्थाहरुलाई व्यवसाय सञ्चालनमा समस्या भएको हो।
नेपालमा अधिकांश लघुवित्त संस्थाहरुले विपन्न वर्गका महिलाहरुको समूह निर्माण गरी उनीहरुको मासिक बैठक गर्ने, बचत संकलन तथा सामूहिक जमानीमा ऋण लगानी गर्ने मोडल प्रयोग गर्दै आएका छन्। तर, कोभिडको महामारी लामो समयसम्म चल्ने देखिएकाले लघुवित्त संस्थाहरुले सञ्चालनमा लागि नयाँ मोडल अपनाउनुपर्ने देखिएको छ।
‘यदि यही मोडलमा लघुवित्तहरु सञ्चालन गर्ने हो भने धेरै लघुवित्तका कर्मचारी साथै समुदायमा नै कोरोना फैलन सक्छ,’ सेन्टर फर माइक्रोफाइनान्स (सिएमएफ) का अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने, ‘कोभिडका कारण लघुवित्त क्षेत्र धेरै प्रभावित भएको र सञ्चालन मोडल नै परिवर्तन गर्नुपर्छ।’
कोभिडले लघुवित्त संस्थाहरुमा पारेको प्रभावबारे सिएमएफले गरेको अध्ययन प्रतिवेदनले समेत लघुवित्तको परम्परागत सेवा प्रवाहको मोडल परिवर्तन गर्नुपर्ने औंल्याएको छ।
प्रतिवेदनमा स्थलगत रुपमा सामूहिक बैठक गर्ने मोडललाई परिवर्तन गरी भर्चुअल रुपमा मिटिङ, गु्रप एजेन्टका साथै ट्याब्लेट र मोबाइल बैंकिङ एसएमएस बैंकिङ जस्ता प्रविधिको प्रयोग गर्न सकिने सुझाव दिएको छ।
हाल राष्ट्र बैंक बैंकबाट लाइसेन्स लिएर ९० लघुवित्त संस्थाहरु सञ्चालनमा छन्। गत वर्षसम्म यी संस्थाहरुले करिब ४७ लाख सर्वसाधारणलाई वित्तीय सेवा दिएका छन्। यी संस्थाहरुले साढे १० लाख समूह बनाएर १३ खर्ब ५३ अर्ब ऋण लगानी गरेको राष्ट्र बैंकले जनाएको छ।
लघुवित्त संस्थाहरूका सेवाग्राहीमध्ये सबैभन्दा बढी व्यापारमा संलग्न छन्। त्यसपछि क्रमशः कृषि, पशुपालन र अन्य क्षेत्रमा सञ्लग्न रहेका पाइएको छ।
लघुवित्त संस्थाका ग्राहकमध्ये ५०.७१ प्रतिशत घरपरिवार सदस्यले लघु कर्जा लिएर व्यापार व्यवसायमा लगानी गरेका छन्। यसैगरी लघुवित्तबाट ऋण लिएर २२.१४ प्रतिशतले कृषिमा, १४.२९ प्रतिशतले पशुपालन र ११.४३ प्रतिशतले अन्य पेशामा लगानी गरेका छन्।