काठमाडौं– २१ असोज साँझ साढे ४ बजे। भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित चन्द्रबहादुर योञ्जन (लामा)को घरमा रहेको मदिरा पसलमा दुईजना युवक पुगे।
बा ९६ प ७११४ नम्बरको मोटरसाइकल चढेर योञ्जनको पसल पुगेका थिए, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ र रामेछाप घर भई बौद्ध बस्ने २७ वर्षका प्रेम तामाङ।
बसेर मदिरा खान मिल्ने ठाउँसमेत भएकाले पसलमा अन्य मानिसहरु पनि थिए। मोटरसाइकलमा आएका ती दुई युवकले बियर मगाएर खान सुरू गरे।
जग्गा चाहिएकोले खोज्न आएको भन्दै उनीहरुले केहीबेर पसल सञ्चालक चन्द्रबहादुरसँग गफ गरे। जग्गाको कारोबारसमेत गर्दै आएका चन्द्रबहादुरलाई उनीहरुले आजै जग्गा हेर्ने र बैना गरिहाल्ने भन्दै जग्गा हेर्न जाने कुरा गरे।
घर नजिकै रहेको जग्गाको नक्सा निकालेर देखाए चन्द्रबहादुरले। पत्नीले भने राति भइसकेकाले नजान अनुरोध गरिन्। तर, ती युवकहरुको दबाबपछि चन्द्रबहादुर जान तयार भए। उनी आफ्नै मोटरसाइकलमा युवाहरुको पछि लागेर निस्के।
जब घरदेखि १ किलोमिटरको दूरीमा रहेको विडोल फाँटस्थित धानखेतमा पुगे, जग्गा हेर्न आएका युवकले धम्क्याउन र कुट्न सुरू गरे। कुटाइबाट चन्द्रबहादुर गम्भीर घाइते भए। ती युवकले उनको हातमा रहेको ब्रासलेट र मोबाइल लिएर भागे।
केहीबेरपछि छिमेकीले देखेपछि परिवारलाई खबर गरे। तत्कालै भक्तपुरकै मध्यपुर अस्पताल लगियो। त्यहाँबाट उनलाई बसुन्धरास्थित ग्रिनसिटी अस्पताल पुर्याइयो। २२ असोज बिहान ५ बजे उनको मृत्यु भयो।
अस्पतालको पोष्टमार्टम रिपोर्टमा उनको कुटपिटबाट आन्द्रामा चोट लागेर रक्तश्राव भएको र त्यसैका कारण मृत्यु भएको उल्लेख छ।
सीसीटीभी फुटेजमा देखिएको हेलमेटका तीन अक्षर जसले हत्यारा पत्ता लगायो
२२ असोज बिहान जग्गा हेर्न आएका व्यक्तिहरुको कुटपिटबाट एक व्यक्तिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर महानगरीय अपराध महाशाखामा पुग्यो।
महाशाखाले तत्काल अनुसन्धान अगाडि बढायो। मृतकको पसलमा जडान गरिएको सीसीटीभी फुटेज र परिवारका सदस्यले दिएको हुलियाका आधारमा खोजतलास सुरू भयो।
जग्गा हेर्ने भन्दै पसलमा आएका दुईजना युवकले मोटरसाइकलको हेल्मेट बियर पिउँदा टेबुलमा राखेका थिए। हेल्मेटमा अङ्ग्रेजीको ठूलो अक्षरमा आरओएक्स लेखिएको थियो।
प्रहरीले घटनाको अनुसन्धानका लागि ‘रक्स अपरेसन’ नाम दिएर खोजतलास सुरू गर्यो।
अभियुक्तहरुको नाम, ठेगानालगायत अन्य केही सुराक थिएन प्रहरीसँग। न मृतक र जग्गा हेर्नेहरु एक अर्कासँग परिचित थिए। उनीहरुबीच फोन संवाद पनि भएको थिएन।
‘हामीले प्राविधिक र अन्य पाटोसँगै हेलमेटमा उल्लेख भएको अक्षरलाई क्लु बनाएर अपरेसन सुरू गर्यौं,’ महाशाखाका एसपी ईश्वर कार्कीले भने, ‘हत्या भएको छैटौं दिनमा हत्यारा पक्राउ गर्न सफल भइयो।’
प्रहरीले रक्स लेखेको हेलमेट लगाउने मोटरसाइकल चालकमाथि अनुसन्धान केन्द्रित गर्दै जाँदा बौद्ध नयाँ बस्तीमा जिम गर्न आउने युवाहरुले यस्तो लेखिएको हेलमेट लगाउने गरेको पत्ता लगायो।
हुलिया र हेलमेटमा लेखिएको अक्षरका आधारमा सोमबार साँझ बौद्ध क्षेत्रबाट प्रहरीले सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ र रामेछाप घर भई बौद्ध बस्ने २७ का प्रेम तामाङलाई पक्राउ गर्यो।
मुख्य योजनाकार शेर्पा भन्ने कामी लामा
बौद्धबाट दुईजना पक्राउ परिसकेपछि घटनाको रहस्य पत्ता लाग्यो। उनीहरु दुवैजना परिचालित भएका रहेछन्। सिन्धुपाल्चोक घर भई काठमाडौं थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा र मृतक चन्द्रबहादुरबीच पहिलेदेखि नै चिनाजानी रहेछ।
जग्गाको कारोबार गर्नेहरुबीच आर्थिक लेनदेनको विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘लामाले १५–१६ लाख रुपैयाँ चन्द्रबहादुरलाई जग्गाको बैना दिएको र जग्गा पास नभएपछि तर्साउन दुईजना युवकलाई परिचालन गरेको देखिन्छ,’ महाशाखाका एसपी कार्कीले भने, ‘तर, तर्साउन गएकै युवकहरुको कुटाइबाट मृत्यु भएको छ।’
एसपी कार्कीका अनुसार मुख्य योजनाकार लामा र कुटपिट गर्ने रमेश र प्रेमले आफूहरु पक्राउ परिसकेपछि मात्रै चन्द्रबहादुरको मृत्यु भएको थाहा पाएका थिए। दुईजना युवक पक्राउ परेपछि उनीहरुकै बयानका आधारमा लामा पक्राउ परेका हुन्।
ब्रासलेट लुटेर लगेका उनीहरुले बौद्धमै रहेको एक सुनचाँदी पसलमा बिक्री गरेका थिए। एक लाख ५५ हजारमा बिक्री गर्दा आएको रकमबाट ५ हजार रेष्टुरेन्टमा उधारो तिरेको र बाँकी ७५–७५ हजार बाँडेका थिए। प्रेमको साथबाट ५० हजार र रमेशको साथबाट प्रहरीले ४ हजार ६ सय रुपैयाँ बरामद पनि गरेको छ।
प्रेमकै घरबाट मृतकको मोबाइल पनि बरामद गरिएको छ भने सुनचाँदी पसलमा गालेको अवस्थामा बिक्री गरेको एक तोला २ लाल सुन पनि बरामद भएको छ। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारवाहीका लागि महानगरीय प्रहरी वृत जगाती पठाइएको छ।