काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा लापरबाही गर्न नहुने भन्दै म्याद नाघेका सामान बजारमा नपठाउन उद्योगी–व्यवसायीहरुलाई आग्रह गरेको छ।
महासंघले मंगलबार विज्ञप्ति जारी गरी कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट नहुने भन्दै म्याद नाघेका सामग्री बजारमा नपठाउन आग्रह गरेको हो।
पछिल्लो समय वाणिज्य विभागले अनुगमनलाई तिव्रता दिएको छ भने अनुगमनमा गुणस्तहीन र म्याद गुज्रिएका सामानको बिक्री भइरहेको पाइएको छ।
महासंघले भनेको छ, ‘यस्तो कठिन घडीमा कहिँकतै कम गुणस्तरीय सामान बिक्री भएको, उपभोग्य मिति गुज्रेका सामान बेचिएको म्याद गुज्रेका वस्तुमा पुनः उपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुगेको सामान बजारमा बिक्री गरेको लगायतका प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासा आएकोतर्फ महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’।
म्याद नाघेको सामग्री बजारमा पठाउँदा कारवाहीको भागिदार हुनुपर्ने हुँदा प्रचलित कानुनविपरीतका कार्यमा संलग्न नहुन महासंघले अनुरोध गरेको छ। त्यस्तै महासंघले आफ्ना सबै सदस्यहरुलाई व्यावसायिक आचारसंहिताको पूर्ण पालना गरी व्यापार–व्यवसाय गर्न आह्वान पनि गरेको छ।
साथै चाडवाडलक्षित बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला–नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउंदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्न सरकारसँग माग गरेको छ।