काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोकमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेज र कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शिक्षण अस्पताललाई कोभिड अस्पतालको रुपमा स्तरोन्नति गर्ने भएको छ।
हाल आइसोलेसन सेन्टरको रुपमा रहेको उक्त स्थानलाई लक्षणसहितका कोभिड–१९ का बिरामीलाई उपचार गर्ने अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले बताए।
मन्त्रालयको आइतबार बसेको कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले सो निर्णय गरेको हो। प्रवक्ता डा. गौतमले यी दुई आइसोलेसन सेन्टरहरुमा अब लक्षणसहितका बिरामीको उपचार हुने भन्दै कोभिड–१९ अस्पतालको रुपमा स्तरवृद्धि गरिएको बताए।
पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमितको संख्या निकै बढेको छ भने लक्षण सहितका संक्रमित पनि थपिँदै छन् ।