काठमाडौं- सप्तरीको कञ्चनपुर नगरपालिका-११ का ५५ वर्षीय बमबहादुर साह २ वर्षअघि जेलबाट मुक्त भए।
सप्तरीकै शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा दोषी ठहर भएपछि ८ वर्ष कैद सजाय पाएका उनले आफ्नो कैद भुक्तानी गरेर छुटे।
विगतमा मधेश मुक्ति टाईगर्स भन्ने सशस्त्र समूहमा संलग्न रहेका उनले शिक्षकको हत्या गरेका थिए। हत्याकै अभियोगमा ८ वर्ष सजाय भुक्तान गरेर बाहिर निस्केका साह सुध्रिनेतर्फ लागेनन्। उनी पुनः अपराध कर्ममै फर्किए।
१० असोज २०७७ मा सप्तरीको तिरहुत गाउँपालिका २ मैनाकडरी की ५० वर्षीया दाईमन देवी यादवको हत्या भयो। घरमा एक्लै रहेको समयमा उनको हत्या भएको थियो। साहले नै महिलाको घाँटीमा डोरीले कसेर हत्या गरेका थिए।
घटना भएको १६ दिनपछि साहसहित तीन जनालाई प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा साहसहित सप्तरीको तिरहुत गाउँपालिका २ बस्ने २१ वर्षीय अजयकुमार यादव र ५२ वर्षीय ओमप्रकाश यादव छन्।
साहलाई प्रतिवादी ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
‘साहले महिलालाई भुईमा लडाएर डोरीले घाँटीमा कसेर हत्या गरे,’ प्रदेश २ प्रहरी कार्यालयका डिआइजी धीरजप्रताप सिंहले भने,‘ अन्य दुईजना बाहिर कोही आउँछ की भनेर रेकी गर्न बसेका रहेछन्।’
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका तीनै जनाले हत्या गरेको स्वीकार गरेका छन्।
मृतक महिलाले आफ्नी देवरानीसँग ओमप्रकाश यादवको अनैतिक सम्बन्ध थाहा पाएपछि उनको हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै अजय यादव र मृतक महिलाबीच जग्गा विवाद रहेको मृतकको २ बिघा जग्गा अजय यादवको बुवाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादको कारणले बाली नबुझाएको पनि अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।