काठमाडौं- चीनको चिङदाओ सहरमा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सहरको जनसंख्यामा कोरोना भाइरसको परीक्षण गर्ने निर्णय गरेको छ।
चीनमा पछिल्ला केही महिनादेखि ठूलो परीमाणमा परीक्षण (मास टेस्टिङ) भएको थिएन।
आइतबार चिङदाओमा ६ नयाँ संक्रमित भेटिएपछि स्थानीय प्रशासनले सहरका सबै वासिन्दाको पाँच दिनभित्र परीक्षण गरिसक्ने घोषणा गरेको हो।
प्रशासनले परीक्षण गरिने कुल जनसंंख्याको बारेमा नबताए पनि सहरमा करिबर ९४ लाख जनसंख्या रहेको हुँदा कम्तीमा पनि ९० लाखको परीक्षण हुने अनुमान गरिएको हो।
स्वास्थ्य अधिकारीहरुका अनुसार संक्रमणको खबर पाएलगत्तै स्वास्थ्य सेवामा काम गर्ने एक लाख ४० हजारको परीक्षण गरिसकिएको छ।
यसअघि जुनमा राजधानी बेइजिङमा मास टेस्टिङ गरिएको थियो। करिब दुई करोड जनसंख्या भएको बेइजिङमा कोरोना संक्रमण फैलिएको भए त्यसलाई नियन्त्रणमा लिन निकै गाह्रो हुने थियो। यस्तोमा चीन सरकारले धेरैभन्दा धेरै परीक्षण गरेर संक्रमणमा काबु पाएको छ।
विश्वका अन्य देशहरु यो ज्यानमारा भाइरससँग जुधिरहेका बेला चीन भने सजिलो स्थितिमा देखिएको छ। त्यहाँको जनजीवन सामान्य भइसकेको छ।
गएको साता ‘गोल्डन विक’ अन्तर्गत लाखौं मानिसहरुले चीनका विभिन्न स्थानको भ्रमण गरेका थिए। यो चीनको ठूलोमध्येको पर्व हो।
यसैबीच कोरोना भ्याक्सिन निर्माणमा पनि चीनमा जोडतोडका साथ काम भइरहेको छ। चीनबाहेक रुस, युरोप, अमेरिका र भारतमा पनि भ्याक्सिन निर्माणको काम जारी छ।
गत वर्षको डिसेम्बर महिनादेखि चीनबाट कोरोना संक्रमणको सुरुआत भएको थियो । विश्वभर अहिलेसम्म ३ करोड ७७ लाख मानिस संक्रमित भइसकेका छन् भने १० लाख ८१ हजारको ज्यान गइसकेको छ।