आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्रीराम सुगर मिल बन्द, किसान र कर्मचारीले अझै पाएनन् भुक्तानी 

श्रीराम सुगर मिल बन्द, किसान र कर्मचारीले अझै पाएनन् भुक्तानी 

श्रीराम सुगर मिल बन्द भएको तीन महिनामा पनि किसान र कर्मचारीले बक्यौता रकम पाएका छैनन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– श्रीराम सुगर मिल बन्द भएको तीन महिनामा पनि किसान र कर्मचारीले बक्यौता रकम पाएका छैनन्। मिल बन्द हुँदा प्रत्यक्ष रुपमा ५८० जनाको रोजगारी गुमेको छ।

उखु उत्पादक संघका अनुसार मिल बन्द हुँदा ३३० जना स्थायी श्रमिक, कर्मचारी र २५० जना करार गरी ५८० जना मानिस बेरोजगार भएका छन्।

आइतबार उखु उत्पादक संघले प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई भेटेर उद्योग पुनः सञ्चालन हुनुपर्ने बताएका हुन् । 

संघका वरिष्ठ उपाध्यक्ष रामप्रमोदप्रसाद यादवले कम्पनी बन्द हुँदा किसान, कर्मचारी, श्रमिक, मालिक सबैलाई समस्या भएको बताए। उक्त मिलमा रौतहट र आसपास जिल्लाका झण्डै १८ हजार किसानको उखु खपत हुन्थ्यो। 

उखु उत्पादक संघ र श्रीराम सुगर मिलबीच पटक, पटक रकम भुक्तानी गर्ने सम्झौता भए पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन। २०७३ असोजमा वक्यौता पूरै भक्तानी गर्ने सम्झौता भएको थियो। तर, मिलले थोरै मात्र भुक्तानी दिएर टार्‍यो।

त्यसपछि २०७४ वैशाख र जेठमा भुक्तानी गर्ने सम्झौता भए पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन। 

पछिल्लोपटक गत पुसमा कम्पनीले किसानसँग चिनी र स्प्रिट बेचेर बाँकी रकम भुक्तानी गर्ने सहमति गरेको थियो। यो बेला पनि केही मात्रै भुक्तानी दियो।

संघले भने विगतमा भएको सम्झौताअनुसार नै बक्यौता रकम पाउनुपर्ने माग राख्दै आएको छ। 

त्यस्तै संघले मिलमा कार्यरत कर्मचारीले पाउनुपर्ने चार करोड रुपैयाँ (कर्मचारीको पाँच महिनाको तलबभत्ता, र डेढ वर्षको सञ्चयकोष समेत) पाउन बाँकी रहेकोले सो रकम पनि भुक्तानी गर्नुपर्ने माग राखेको छ । 

आर्थिक वर्ष २०७१/७२ को १२ करोड रुपैयाँ, आव २०७५/७६ को २८ करोड ५० लाख रुपैयाँ र गत आर्थिक वर्षको ५० लाख रुपैयाँ बक्यौता गरी ४१ करोड रुपैयाँ मिलले किसानलाई तिर्न बाँकी छ। 

किसानको भुक्तानी बाँकी रहेकै अवस्थामा गत साउन ११ गते कम्पनी बन्द गरिएको थियो। 
 

प्रकाशित: Oct 12, 2020| 08:57 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्