सुर्खेत– रुकुम पश्चिमको सोती घटनाका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने कि छोड्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझिएको छ।
सोमबार भएको बहसका क्रममा मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो। दुई न्यायाधीशको राय बाझिएको उच्च अदालत सुर्खेतका रजिस्ट्रार माधवप्रसाद पौडेलले जानकारी दिए।
‘आरोपितलाई थुनामा राख्ने कि छोड्ने भन्ने विषयमा राय बाझिएको छ’, रजिस्ट्रार पौडेलले भने, ‘उच्च अदालतको नियमावलीअनुसार दुई जना न्यायाधीशको राय बाझियो भने मुद्दा तेस्रो न्यायाधीशसमक्ष पेस गर्नुपर्ने हुन्छ, सोही अनुसार मुद्दा आजै तेस्रो न्यायाधीशसमक्ष पेस हुन्छ।’
यद्यपि, मृतक नवराज विककी प्रेमिका भनिएकी किशोरीलाई साधारण तारेखमा छाड्ने विषयमा भने दुवै न्यायाधीशको मत मिलेको रजिस्ट्रार पौडेलले जानकारी दिए ।
जेठ १० गते रुकुम पश्चिमको सोती घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो। घटनापछि पीडित परिवारले ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भाव लगायतको अभियोगमा रुकुमपश्चिम जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रूपमा मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा सुनुवाइ गर्दै असार १० गते अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
घटनामा २९ जना पक्राउ परेकोमा अदालतले दुई जनालाई सुधार गृहमा पठाउन, तीन जनालाई तारेखमा र एक जनालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
जिल्लाको आदेशविरुद्ध प्रतिवादीहरु उच्च अदालत सुर्खेत पुगेका थिए।