काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
रावलले सोमबार बिहान ट्वीट गर्दै सीमाका सम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन्।
‘हुम्लाको नाम्खा गाउँपालिका लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस,’ रावलले भनेका छन्।
उनले देशको भौगोलिक अखण्डतासंग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइनुपर्ने बताएका छन्।
सरकारले भने यसअघि नै चीनसँग कुनै पनि सीमा विवाद नरहेको भन्दै प्रष्ट पारिसकेको छ।