पर्सा– वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भइसकेको कन्टेनरसहितको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका अधारमा वीरगन्ज महानगरपालिका–२४ बहुअरी चोकबाट एचआर ३८ भि ४८९५ नम्बरको ट्रकको चालकको सिटमुनिबाट विभिन्न लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण मोतीहारी थाना रक्सौल हर्दिया ४ बस्ने २० वर्षीय विक्रान्त पटेल, सोही सोही गाउँका रामबलक राम र अकाश राम छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार सिटपछाडि फल्स बटन बनाई नुर्फिन, फेनारगन, एम्पुल डाइजेपाम इन्जेक्सन दुई सय ९७/दुई सय ९७ पिस र विनक्रयाक्स एक सय एमएलको १२ सय ६ बोतल बरामद भएको हो।
पक्राउ परेका तीनैजनालाई लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए। कसुरदार ठहर भए दुई वर्षदेखि १० वर्षसम्म कैद र एक लाख देखि २० लाखसम्म जरिवाना हुने ऐनमा व्यवस्था छ।