धनगढी- पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रमित निको हुनेभन्दा बढ्नेको संख्या बढी देखिएको छ।
पछिल्लो ६ दिनको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का संक्रमित निको हुनेभन्दा दैनिक बढ्नेको संख्या दोब्बर बढी रहेको देखाएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जारी गरेको प्रेस नोटका अनुसार प्रदेशमा निको हुनेभन्दा दोब्बर दैनिक कोरोना संक्रमित बढेका छन्।
असोज १९ गते प्रदेशमा नौ जना कोभिड–१९ का बिरामी निको भएर घर फर्के भने सोही दिन २९ जना थपिए। २० गते २१ जना कोभिड–१९ जितेर घर फर्किए भने सोही दिन २९ जना थपिए। २१ गते २७ जना निको भएर घर फर्किए भने ११९ जना थपिए।
२२ गते १४ जना निको भएर फर्किए भने ४१ जना थपिए। २३ गते २९ जना निको भएर फर्किए भने ७० जना कोभिड–१९ का ७० जना नयाँ संक्रमित थपिए। २४ गते २५ जना डिस्चार्ज भए भने प्रदेशमा ६२ जना नयाँ संक्रमित थपिए ।
संक्रिय संक्रमित ११७७
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रिय संक्रमितको संख्या एक हजार एक सय ७७ पुगेको छ ।
प्रदेशमा रहेका कुल संक्रमितमध्ये आधा बढी संक्रिय संक्रमित कैलाली जिल्लामा छन्। कैलालीमा ६५२ जना कोभिड–१९ का संक्रिय संक्रमित छन्।
डोटी जिल्लामा कोभिड–१९ संक्रिय संक्रमितको संख्या ११५ छ। कञ्चनपुर जिल्लामा संक्रिय संक्रमितको संख्या ११४ छ। बझाङमा ११०, दार्चुलामा ७६, अछाममा ५१, बैतडीमा ३९, डडेल्धुरामा १७ जना संक्रिय संक्रमित छन्।
प्रदेश बाहिरको बर्दिया, धनुषा र सुर्खेतका एक, एक जना संक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ।
बाजुरा जिल्लामा संक्रिय संक्रमित शून्य
बाजुरा जिल्लामा भने कोभिड–१९ का संक्रिय संक्रमितको संख्या शून्य भएको छ। जिल्लामा ४५३ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएकोमा ४५१ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
६७५६ ले जिते कोरोना
सुदूरपश्चिम प्रदेशमा हालसम्म कोभिड–१९ जितेर ६ हजार सात सय ५६ जना घर फर्किएका छन्। सुदूरपश्चिम प्रदेशमा हालसम्म सात हजार ९ सय ५१ जनाको कोरोना भाइरस पोजेटिभ देखिएका छन्।
प्रदेशको कैलाली जिल्लामा दुई हजार दुई सय ३३ जना, कञ्चनपुरबाट सात सय ८६, डोटीबाट एक हजार एक, दार्चुलाबाट ७१, डडेल्धुराबाट तीन सय २५, बाजुराबाट चार सय ५१, बझाङबाट चार सय ४९, बैतडीबाट तीन सय ९४ र अछामबाट एक हजार ४६ जना कोभिड–१९ जितेर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशमा आधा बढी कोरोनाका संक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन्। प्रदेशमा रहेका कुल कोरोनाका संक्रिय संक्रमितमध्ये पाँच सय ७१ जना होम आईसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।