महेन्द्रनगर- कञ्चनपुरका नगर/गाउँपालिका सहित सरकारी कार्यालयमा सेवारत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि धमाधम सेवा अवरुद्ध हुन थालेको छ।
बेलौरी नगरपालिकामा कार्यरत तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिका एक साताका लागि सिल गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरी भन्छन्, “आगामी बिहीबारसम्म स्वास्थ्य सुरक्षा अपनाउन सिल गरिएको हो। कर्मचारीलाई नै कोरोना देखिएपछि सेवा दिन सक्ने अवस्था हुँदैन।”
नगरपालिकाले सङ्क्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको समेत कोरोना परीक्षण गर्ने जनाएको छ ।
त्यसैगरी दुई दिनदेखि महेन्द्रनगरस्थित आन्तरिक राजश्व कार्यालयले सम्पूर्ण सेवा बन्द गरेको छ।
राजश्व कार्यालयमा एक पुरुष कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले सेवा बन्द गरेको हो। कार्यालयमा कार्यरत अन्य १७ कर्मचारीको समेत स्वाब सङ्कलन गरिएको र उक्त नतिजाका आधारमा सेवा सञ्चालन गरिने राजश्व कार्यालयले जनाएको छ।
कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टि भएपछि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ। अत्यावश्यक सेवा लिनका लागि स्वास्थ्यका मापदण्ड पालना गरी सेवा लिन सकिने नगरपालिकाबाट जारी सूचनामा भनिएको छ ।
त्यसैगरी महाकाली अस्पतालमा आइसीयूमा उपचाररत बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि केही दिनयता आइसीयू सेवा अवरुद्ध छ। शुक्रबार अस्पतालका केही कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ।