आइतबार, भदौ १४, २०८३

‘मोक्षभूमि’ मा प्रेम, यौन र संघर्षको साधना छ : केशव दाहाल

यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

केशव दाहाल राजनीतिक अभियन्ता तथा लेखक हुन्। हाल उनी साझा पार्टीसँग आबद्ध छन्। यसअघि उनी बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्तिमा संलग्न थिए।

समसामयिक राजनीतिक घटनाक्रमबारे उनका टिप्पणी विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ। दाहालको हालै ‘मोक्षभूमि’ नामक उपन्यास प्रकाशित भएको छ ।

उनको यो पहिलो साहित्यिक कृति हो। यसअघि  दाहालको ‘राजनीतिक पुस्तक नेपाली राजनीतिको पुनर्गठन’  प्रकाशित छ। मोक्षभूमिबारे दाहालसँग नेपाल समयले गरेको छोटो कुराकानी :

समसामयिक राजनीतिक विश्लेषण र साहित्य सिर्जना कुनचाहिँ सजिलो काम हो? 

कल्पना गरौं, चित्र बनाउन सजिलो होला कि, पियानो बजाउन? दुवै सजिलो काम हो। चित्रकारलाई चित्र बनाउन सजिलो। संगीतकारलाई पियानो बजाउन।

मलाई लाग्छ– संसारमा अप्ठ्यारो भन्ने कुनै काम छैन। सबै कुरा सजिलो छ। तर काम कसले गर्छ र काम गर्ने उत्प्रेरणा के हो त्यसले फरक पार्छ। महान् फुटबल खेलाडीलाई कविता लेख्न कति सकस होला, त्यति नै महान् कविलाई फुटबल खेल्न। 

जहाँसम्म राजनीतिक विश्लेषण र साहित्य सिर्जनाको कुरा छ, दुवै लेख्ने काम हुन्। दुवै पढ्ने काम हुन्। दुवै सिर्जनात्मक काम हुन्। दुवैमा आनन्दको गुप्त रसधारा छ।

यद्यपि राजनीतिक विश्लेषणमा तथ्य, सत्य र सन्दर्भहरु ज्यादा प्रभावशाली हुन्छन्। साहित्यमा कल्पना, सपना र भावधारा। राजनीतिक विश्लेषण सत्ता र शक्तिको विवेचना हो, साहित्य मान्छेको मन, गरिमा र गर्वको।

लेखक आफू र आफ्नो संसारप्रति इमानदार छ भने यी दुवै काम सजिला छन्। तर ऊ इमानदार भएन भने यी सजिला काम होइनन्। आफैंलाई ढाँट्न कहाँ सजिलो हुन्छ र? म यी दुवै काम गर्दा रमाउँछु। मज्जा लिएर गरेको कुुनै पनि काम मेरा लागि अप्ठ्यारो हुँदैन।

साहित्य सिर्जनामा आख्यान नै किन रोज्नुभयो?

मेरा लागि यो निकै कडा प्रश्न भयो। एउटा उपन्यास लेख्दैमा यस्तो प्रश्नको जवाफ दिनुपर्ला भनेर मैले सोचेकै थिइनँ। त्यसैले यो प्रश्नको खासै गतिलो उत्तर मसँग छैन।

एउटा कविलाई किन कविता नै लेखिस् भनेर सोध्नुभयो भने उसले के उत्तर देला? एउटा संगीतकारले आफ्नो संगीतप्रति दिने जवाफ के होला? बनावटी जवाफ दिन मसँग कुराहरु छन्।

जस्तो– साहित्यले मेरो मनलाई उद्वेलित गर्छ। लेख्दा मलाई मज्जा आउछ। यो मेरो साधना हो। म अम्मर हुन चाहन्छु। म समाजलाई योगदान गर्न चाहन्छु आदिइत्यादि।

सत्य के हो भने म किन लेख्छु भनेर मैले आफूलाई अहिलेसम्म सोधेकै छैन। सायद आफूले गरेका कामबारे कसैलाई उत्तर दिनु नपरोस् भनेर नै पो मैले लेखनलाई रोजेको हो कि? थाहा छैन।

इतिहासका प्रसंग समेटिएको ‘मोक्षभूमि’ लाई ऐतिहासिक उपन्यास भन्न मिल्छ? मिल्छ भने इतिहासलाई अख्यानीकरण गर्न कठिन भएन?

मैले भन्दै आइरहेको छु कि 'मोक्षभूमि' ऐतिहासिक उपन्यास होइन। यो पुरानो समयमा उभिएर बुनेको कथा हो। तर यो कथा सुन्ने र सुनाउने मान्छे भने यही समयका हुन्।

'मोक्षभूमि' ले हाम्रो सभ्यताको एउटा कालखण्डको सत्ता र सपनाको कुरा गर्छ। जहाँसम्म इतिहासलाई आख्यानीकरण गर्ने कुरा छ, यसमा म अलिक भिन्न सोच्छु।

मलाई लाग्छ– कथा र इतिहास फरक छ। कथा कथाजस्तै हुनुपर्छ, इतिहास इतिहासजस्तै। यसलाई मिसमास गर्नु हुँदैन। कथा र इतिहासलाई मिसमास गरेमा न त शुद्ध इतिहास रहन्छ, न त शुद्ध कथा। तेल र पानी मिसाएर कसरी काम चल्छ? इतिहास र कथामा शुद्धता चाहिँदैन? 

उसो भए ‘मोक्षभूमि’ कस्तो कथा हो?

यो मान्छेको कथा हो। यो समयको कथा हो। यो स्वतन्त्रता चाहनेको कथा हो। यो प्रेमको कथा हो। यो मोक्षको कथा हो। कसैले यसलाई राजनीतिक कथा भन्छ भने त्यो उसको कुरा हो। जसको मसँग कुनै जवाफ छैन। यो उपन्यास लेखिरहँदा मैले आफ्नो जात, धर्म, वर्ग, राजनीति सबै कुरा बिर्सिने प्रयत्न गरेको थिएँ।

यद्यपि मेरा लागि यो निकै कठिन काम थियो। राजनीतिक मिसनका लागि साहित्य रचना गर्ने साथीहरूले भन्नुहोला– सबै कुरा राजनीतिको वरिपरि घुम्छ।

तर म ठान्छु– सबै कुरा राजनीतिको वरिपरि घुम्दैन, सबै कुरा जीवनको वरिपरि घुम्छ। स्वयं राजनीति पनि जीवनको वरिपरि घुम्नुपर्छ। त्यसैले यो उपन्यासले राजनीतिको हैन, जीवनको कथा भन्छ।

उपन्यासमा मात्र मान्छे भएर मैले एउटा संसारको रचना गरेको छु, जहाँ जात, धर्म र वीर्यको श्रेष्ठतालाई इन्कार गरिन्छ। राजनीति नै लेख्नु थियो भने म उपन्यास किन लेख्थें? राजनीति नै लेखिहाल्थें नि।   

‘मोक्षभूमि’ यो शब्द झट्ट सुन्दा कुनै पौराणिक वा सनातन सन्दर्भसँग जोडिए जस्तो लाग्छ। खास के हो? 

‘मोक्षभूमि’ पौराणिक र सनातन कथामा आधारित छैन। यो मान्छेको सम्पूर्ण स्वतन्त्रता र गौरवको खोजी हो।

मैले यहाँ प्रयोग गरको मोक्ष त्यही सम्पूर्ण स्वतन्त्रताको अर्थमा लिइएको हो। भूमि त्यो सम्पूर्ण स्वतन्त्रताको आधार हो। जसलाई मैले मोक्षभूमिको नामले सम्बोधन गरेको हुँ।  

कतिपय उपन्यास केही समय चर्चामा रहेर हराउँछन्। ‘मोक्षभूमि’ ले नेपाली साहित्यमा कस्तो योगदान देला वा यसको महत्त्व पछिसम्म कसरी रहला जस्तो लाग्छ?

यो उपन्यास कति समय बाँच्ला? यसले के के उधुम गर्ला? मलाई थाहा छैन। मैले त्यो अपेक्षाबाट लेखेको पनि होइन। यो उपन्यासले पाठकलाई आनन्दको अनुभति दियो र जीवनका रहस्यसँग साक्षात्कार गरायो भने यो दीर्घजीवी होला। अन्यथा मान्छेलाई प्रभावित नगर्ने, फासफुसे कृति हराउनु नै बेस। अहिलेचाहिँ म पाठकको प्रतिक्रिया पर्खिएर बसेको छु।

यो उपन्यास नेपाली पाठकले किन पढ्नुपर्छ?

नेपाली पाठकले यही उपन्यास पढ्नुपर्छ भनेर म न त घमण्ड गर्न चाहन्छु, न त आह्वान। म रचनाहरू छनोट गर्ने पाठकको स्वतन्त्रताको सम्मान गर्छु।

खासमा यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।

जहाँसम्म किन पढ्ने भन्ने प्रश्न छ, ‘मोक्षभूमि’ जीवनको स्वतन्त्रता, सपना र सत्ताको खोजी गर्ने दासहरुको कथा हो। यसले हाम्रो सभ्यताको एउटा खास कालखण्डको कुरा गर्छ। यसमा प्रेम, यौन, संघर्ष र मोक्षको साधना छ। कोही पनि प्रिय पाठकहरु यस्तो कथा पढ्न चाहनुहुन्छ भने कृपया ‘मोक्षभूमि’ पढ्नुहोस्। तपाईंहरूलाई अवश्यै मन पर्नेछ।

सम्बन्धित समाचार

केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा 

 

 

प्रकाशित: Oct 10, 2020| 02:40 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।