बागलुङ- गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ।
बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिकामार्फत समाजले नगद उपलव्ध गराएको हो। विभिन्न कामको सिलसिलामा अमेरिकामा रहेका बागलुङ घर भएका युवाले राहत संकलन गरेका थिए।
बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट संकलित सो रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिए।
समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए। प्राप्त राहत नगरपालिकाले एकद्वार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ।
बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पु¥याएपछि आफुहरूले राहत संकलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ।
बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन्। ढोरपाटन नगरपालिकाको वडा नं ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहीन बनेका छन्।
– रासस