काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु खोजतलास गरी फेला पारेको हो।
शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रममा सम्बन्धित सवारीधनीलाई जिम्मा लगाइएको हो।
उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडिबुटी, वनकाली, जोरपाटी र पुतलीसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल प्रहरीले फेला पारेको हो।
‘एकान्त ठाउँको पार्किङ स्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नगरेर, लापरवाही वा असुरक्षित पार्किङ गरेर मोटरसाइकलहरू बढी चोरी भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने।
चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवामा लग–ईन गरेर निवेदन दिन सकिने व्यवस्था महाशाखाले गरेको छ।
सवारी साधनलाई चोरीबाट जोगाउन सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न र एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि महाशाखा प्रमुख ढकालले आग्रह गरे।
महाशाखाले आर्थिक वर्ष ०७६/०७७ मा चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो। त्यस्तै लकडाउनदेखि हालसम्मको अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाइसकेको छ।