चितवन- चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसबारे अध्ययन गरिने भएको छ। प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो। विज्ञलाई अध्ययनमा सहभागी गराइने छ। निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैँडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रित हुनेछ।
उनका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ। कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
दुई महिना नपुग्दै चोरी शिकारीबाट एउटा र प्राकृतिक कारणबाट सातवटा गैँडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो। अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने गत आवमा यो सङ्ख्या २६ थियो।
मुख्यरुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्कोसँग जुधेर मर्ने गरेका छन्। बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ। नदी किनारका मानव निर्मित तटबन्ध पनि बाँधक बन्ने गरेका छन्।
नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए। विभागले यसअघि पनि गैँडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो।
निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैँडा प्राकृतिक कारणले र एउटा गैँडा तस्करले मारेका छन्।