धनगढी- सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तीनवटा प्रयोगशालामा ६२० जनाको परीक्षणमा ४१ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१३ जनाको परीक्षणमा धनगढी उप-महानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका १ जना गरी कैलालीका १९ र कञ्चनपुरका ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ३ र ९ का २/२ जना, वडा नम्बर २ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कैलालीकै गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिका वडा नम्बर २ का एक जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए। श्रेष्ठका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिकाका ४ जना र महाकाली नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
उता, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ७४ जनाको कोरोना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको साँफेबगर नगरपालिकाका ६ पुरुष र ४ महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ।
यता, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १२९ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ति हरि भट्टले बताए।