पोखरा– मोटरसाइकल दुर्घटनामा पोखरामा एक युवकको मृत्यु भएको छ। पोखरा ६ बुलौदीमा हल्लनचोकबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको मोटरसाइकल बिहीबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा स्याङ्जाका २८ वर्षे दिलीप गुरुङको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए। गुरुङ चढेको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोकिएको हमालले बताए।
स्थायी घर स्याङ्जा बिरुवा गाउँपालिका–८ भए पनि उनी पोखरा १७ नयाँगाउँमा डेरामा बस्दै आएका थिए। दुर्घटनामा परेका गुरुङलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।