काठमाडौं– साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।
आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको संयोजक रवीन्द्र मिश्रले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
‘यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जानेछ,’ विज्ञप्तिमा भनिएको छ।
३७ जना सदस्यमा १० जना महिला छन्। केन्द्रीय समितिको पुनर्गठन सँगसँगै वैकल्पिक राजनीतिको गुरूत्व शक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरिएको साझा पार्टीले जनाएको छ।
‘देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र समृृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकिकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो,’ विज्ञप्तिमा भनिएको छ।
साझाले महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशव बहादुर मल्ल, सुशील राज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरेलाई केन्द्रीय समितिमा मनोनित गरेको हो।