सुर्खेत- जाजरकोटको जुनीचाँदेमा बिहीबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ का ६२ वर्षीय कीर्तिबहादुर शाही, लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही, वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र मटेलाकी २५ वर्षीया मालिका बस्नेत छन्।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार दुर्घटनामा एक जना बेपत्ता भएका छन्। त्यस्तै गम्भीर घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई जिल्ला अस्पताल पठाइएको छ।
दरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका– १ औलभीरबाट करिब २०० मिटर तल मजकोट खोलामा खसेको थियो। गाडी धनी एवम् चालक गोरख बस्नेत फरार रहेका प्रहरीको भनाइ छ।