काठमाडौं- अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले विरोध कार्यक्रम घोषणा गरेको छ।
यसअघि असोज १८ गतेका दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघले सरकारले उक्त अवधिमा बार्ताका लागि कुनै पहल नगरेको भन्दै भोलिदेखि सेवा अवरुद्ध गर्नेगरी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ।
आज (बुधबार) महासचिव बद्री रिजालद्वारा विज्ञप्तिमार्फत् संघले भोलि (बिहीबार) बिहान ९ बजेदेखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने भएको छ।
साथै भोलि चिकित्सक संघका कार्यलयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई धर्ना दिने कार्यक्रम तय गरेको छ।
यस्तै जनस्वास्थ्यका मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनशन गर्ने घोषणा गरेको छ।
यो अवधिभर डा. केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराइए पर्सि २३ गते एक दिनका लागि देशैभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ को सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिस्कार गर्ने निर्णय गरेको छ।
साथै संघले सरकारले यी मागहरु सुनुवाई नगरेमा थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
२४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। सरकारले उनको माग सम्बोधन गर्नका लागि कुनै पनि खालको पहल गरेको छैन।
