पोखरा– चाडपर्वका बेला हुन सक्ने सम्भावित अपराध न्यूनीकरण गर्न कास्कीमा ७ सय ३५ प्रहरी परिचालन गर्न लागिएको छ।
कोभिड–१९ का कारण आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले सो संख्यामा प्रहरी परिचालन गर्न लागेको हो।
कास्की प्रहरीले ‘चाडपर्व दसैं सुरक्षा योजना– २०७७’ सार्वजनिक गर्दै जिल्लामा चौबिसै घण्टा गस्ती गरिने जनाएको छ।
कास्की प्रहरीका प्रवक्ता सुवास हमालले प्रहरीले मोबाइल गस्तीदेखि पैदल गस्ती गरिने बताए। यसका लागि कमान्ड पोस्टबाट सात जनाको टोलीसहित कन्ट्रोल रुमका ११० जना परिचालित हुनेछन्।
कास्कीका दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिनेछ। यात्रुलाई पर्न सक्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले पृथ्वीचोक र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो। दुवै कक्षमा ६÷६ जना प्रहरी रहनेछन्। उनीहरुले यात्रुलाई कोरोनासम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गर्नेछन्।
कास्की छिर्ने ३ नाका– छोरेपाटन, मजुवा र जौबारीमा ‘यात्रुसँग १ मिनेट’ कार्यक्रम पनि चलाइने हमालले बताए। उनले भने, ‘यात्रुलाई समस्या परेको भए समाधान गर्न र उनीहरुलाई हुन सक्ने अपराधबारे सचेत गराउन कार्यक्रम चलाउँछौं।’
नजिकिँदै गरेका चाडपर्व आफू बसेकै ठाउँमा मनाउन कास्की प्रहरीले अनुरोध गरेको छ। कोरोना महामारी फैलिन बाट जोगिने र अनावश्यक खर्च पनि नहुने भन्दै प्रहरीले चाडवाडमा धेरै हिँडडुल नगर्न आग्रह गरेको हो।