काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयू संख्या बढाउने बताएका छन्।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा उनले गम्भीर प्रकृतिका बिरामीहरू देखा पर्न थालेकोले आईसीयूको संख्या बढाउनुपर्ने धारणा राखेका हुन्।
प्रदेश सरकारले आईसोलेशन निर्माण एवं संचालन गरिरहेको जानकारी दिँदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए।
अन्य जिल्लामा संक्रमण कम भए पनि काठमाडौमा कोरोनाबाट थप संकट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ।
काठमाडौको संक्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरी काम गरिरहेको पनि उनले जानकारी दिए। समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताए।
हाल काठमाडौ लगायत ललितपुर, चितवन, दोलखा, काभे्र जिल्लामा प्रदेश मातहतका अस्पताल छैनन्। ती जिल्लामा आफ्नो मातहतका अस्पताल सञ्चालन गर्न सोहि जिल्लामा रहेका एक–एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नति गर्न लागिएको छ।
ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारलाई पत्राचार गरिसकिएको प्रदेश सरकारले जनाएको छ। काठमाडौको कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानिय तहमा १००–१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ। अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकता अनुसार आईसियु र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराईएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशले कोरोना परीक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र ४ वटा तत्काल थप हुने मन्त्रालयले जनाएको छ।
हाल बाग्मती प्रदेशमा ३ हजार २ सय ६० आइसोलेशन बेड, ६ सय ३० आइसियु बेड रहेका छन् भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेका छन्।