काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको मागहरुमा सरकारले गरेको सम्झौताको कार्यान्वायनको स्थिति सार्वजनिक गर्न आग्रह गरेको छ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मानव अधिकार आयोगले सरकारलाई संवेदनशील बन्न आग्रह गरेको हो।
आयोगका प्रवक्ता एवम् सचिव वेद भट्टराईद्धारा जारी विज्ञप्तिमा सरकारले डा. केसीप्रति कुनै चासो नदेखाएको पाइएको उल्लेख छ।
आयोगले डा. केसीको अवस्था एवम् सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वायनको अवस्था सार्वजनिक गर्न र उचित मागहरुप्रति संवेदनशील बन्न सरकारलाई पत्राचार गरेको विज्ञप्तिमा उल्लेख छ।
‘बार्ता र संवादको माध्यमबाट कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’ विज्ञप्तिमा उल्लेख छ।
साथै आयोगले माग पुरा गराउनको लागि आमरण अनशन जस्तो जीवन नै जोखिम हुने कदम नचाल्न पनि डा. केसीलाई विज्ञप्ति मार्फत् आग्रह गरेको छ।