काठमाडौं- एनआईसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भीजी अटोमोबाइल प्रालिबाट सुजुकी ब्रान्डका दुई पांग्रे सवारी खरिद गर्दा १२ हजार नगद तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार छुट पाउने भएका छन् ।
बैंक र भीजी सुजुकी अटोमोबाइलबीच यस सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र भीजी अटोमोबाइलका उप–महाप्रबन्धक धीरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भीजी अटोमोबाइलका सोरुमबाट सुजुकी ब्रान्डका दुई पांग्रे सवारी खरिद गरे १५ हजार रुपैयाँ रकम छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना ०७७ मंसिर ५ सम्म लागू हुनेछ । बैंकले समयअनुरुप ग्राहकमैत्री योजना ल्याउँदै आएकामा भीजी सुजुकीसँगको यो सहकार्यले ग्राहकको दुई पांग्रे सवारीको आवश्यकता पूरा गर्न सहज हुने विश्वास बैंकको छ ।
बैंकका ग्राहकले क्रेडिट कार्ड उपभोग गर्न अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था गरेको छ । बैंकले मोबाइल बैंकिङ वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २ हजार ३ सयभन्दा बढी अस्पताल, होटल तथा रेस्टुराँ, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको बताएको छ ।
हाल बैंकले मुलुकभर ३ सय २६ शाखा, ४ सय ६८ एटिएम, १ सय ३ वटा एक्स्टेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत वित्तीय सुविधा दिँदै आएको छ ।