भैरहवा– कोरोना संक्रमण जोखिमको बेवास्ता गर्दै बुटवलमा आन्दोलन तीव्र बनेको छ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्तावको विरोधमा विभिन्न राजनीतिक दलका कार्यकर्ता, उद्योगी व्यवसायी र सर्वसाधारण सडकमा उत्रिएका छन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा २१ गतेसम्म सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ। त्यस्तै कारोना भाइरस संक्रमण जोखिमका कारण भौतिक दुरी कायम गर्नुपर्ने स्वास्थ्य मापदण्ड छ। दुवै मापदण्डको ख्याल नगरी प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।
आइतबार बिहानैदेखि बुटवलका मुख्य सडक र चोकमा प्रदेश राजधानी रुपन्देही कायम गर भन्ने ब्यानरसहित स्थानीय बासिन्दा सडकमा उत्रिएका छन्।
संयुक्त संघर्ष समितिका नाममा सडकमा उत्रिएकाहरुले प्रदेश सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन्।
आन्दोलनमा नेपाली कांग्रेसका कार्यकर्ता औपचारिक रुपमै सहभागी भएका छन्। नेकपाले आन्दोलनको समर्थन नगरे पनि कार्यकर्ता भने सडकमा उत्रिएका छन्।
उद्योगी व्यवसायीले पनि प्रदर्शन गरेका छन्। चौराहाबाट सुरु भएको व्यवसायीको विरोध र्याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, नेपाल उद्योग परिसंघका एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुद्र जीसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीलगायतले बुटवललाई राजधानी तोक्नुपर्ने माग गरेका थिए।