काठमाडौं- मुलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको छ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार अहिलेसम्म ८ जनाको मृत्यु भएको छ। त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ संक्रमितको मृत्यु भएको जनाइएको छ। बाँके र मोरङमा एकएक जनाको निधन भएको सापकोटाले बताए।
अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पीसीआर परीक्षण भएको थियो। त्यसमध्ये ७०० पोजिटिभ भएको र झन्डै २०० उपचारपछि निको भएको जनाइएको छ। विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ।
संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटसमेत बन्द गरिएको छ।
आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए। शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ। विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौं, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ। रासस