काठमाडौं– भक्तपुरको मध्यपुरथिमि १ लोकन्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ। घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।
पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएर अवस्था जटिल बनेको थियो।
यससँगै भक्तपुरमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेहरुमा १० महिला र २१ पुरुष छन्।
यस्तै कोरोना संक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना भएका उनलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। अस्पतालको कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान पौने ११ बजे उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। यससँगै चितवनका २३ जनाको कारोना सङ्क्रमणका कारण मृत्यु भएको छ।