शनिबार, भदौ १३, २०८३

मानव सभ्यतामा आइलागेको संकटको विशेष दस्ताबेज हो ‘कोभिड–१९ का कथाहरू’ 

दिनचर्या उस्तै छ। मनोदशा साझा छ। मानवीय अनुभूति समान छ। हरेक भूगोलका साझा भोगाइ पुस्तकमा आएको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

आख्यानकार निर्मलकुमार थापा सम्पादक पनि हुन्। अन्तर्राष्ट्रिय सञ्जाल नेपाल सेन्टरका संस्थापक थापाको सम्पादनमा हालै ‘कोभिड–१९ कथाहरू’ प्रकाशित भएको छ। 

पुस्तकमा नेपाललगायत भारत, अस्ट्रेलिया, क्यानडा, जर्मनी, अमेरिका, बेलायतमा रहेका २६ नेपाली लेखक/साहित्यकारको कोभिड–१९ बारेको भोगाई संगृहीत छ। कृतिका संयोजक तथा सम्पादक थापासँग गरिएको छोटो कुराकानी–  

‘कोभिड–१९ का कथाहरू’ कस्तो कृति हो?

अहिले अमेरिका, युरोप, एसिया जहाँसुकैका मानिसको पनि समस्या उस्तै छ। दिनचर्या उस्तै छ। मनोदशा साझा छ। मानवीय अनुभूति समान छ। हरेक भूगोलका साझा भोगाइ पुस्तकमा आएको छ। त्यसैले यो कुनै साहित्यिक कृतिभन्दा पनि मानव सभ्यतामा महामारीले निम्त्याएको संकटको एउटा विशेष दस्ताबेज बनेको छ। 

कृतिको परिकल्पना कसरी भयो?

हामीले १९९० सालको भूकम्पबारे लेखिएका कृति असाध्यै थोरै पढ्न पायौं। कतिपय सन्दर्भ त अघिल्ला पुस्ताबाट सुनेर मात्र थाहा पायौं। कोभिड–१९ महामारी संसारमा सधैं आउने होइन। भर्खरै जन्मिएको र त्यसपछिको नेपाली भाषी पुस्ताले पढ्दा अहिलेको तस्बिर देखोस्।

अहिलेको मानवीय अनुभूति र पीडा बोध गरोस् भन्ने अभिप्रायले यस्तो कृतिको परिकल्पना गरिएको हो। अर्को उद्देश्य कोभिड–१९ ले संसारभर कस्तो असर गरेको रहेछ त? भन्ने जानकार नेपाली पाठकले एउटै कृतिमा पढ्न पाऊन् भन्ने पनि हो। 

लेखकहरु छनोट गर्दा साहित्यकारलाई नै किन प्राथमिकता दिनुपरेको होला?

आममान्छेभन्दा संवेदनशील र भावुक लेखक सर्जकहरुका मनोदशाबारे पुस्तक निकाल्दा ऐतिहिसिक महत्त्व होला,  महामारीका भोगाइ र बुझाइ अक्षरमार्फत जीवन्त होला भनेर साहित्यकारलाई प्राथमिकता दिइएको हो।

लेखकको छनोट कसरी गर्नुभयो? 

कोरोना महामारी कुनै भूगोल वा क्षेत्रमा सीमित नरहेकाले सकेसम्म संसारभरका नेपाली लेखकहरु समेट्ने प्रयास गरेका छौं। त्यस क्रममा नेपाल, भारत, अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा आदि मुलुकमा साहित्यलेखनमा सक्रिय व्यक्तित्वदेखि केही ‘सेलिब्रेटीहरू’ सँग अनुरोध गरियो। स्रष्टा छनोट गर्दा हरेक विधामा कलम चलाएर ख्याति कमाइसकेका व्यक्तित्वहरूलाई प्राथमिकतामा राखिएको छ।

कुनै आग्रह–पूर्वाग्रह राखिएको छैन। सीमित समयभित्र आएका सिर्जनाहरूलाई पुस्तकमा समेटिएको हो। अन्य लेखक÷साहित्यकारका रचनालाई दोस्रो वा तेस्रो संग्रहसम्ममा स्थान दिने योजना छ।  

महामारीका बेला लेखक र साहित्यकारले सजिलै लेखे त? 

महामारीका बेला साहित्य सिर्जना गर्न कठिन हुने नै भयो। मैले लेखकलाई कोरोना महामारीका बेला के स्मरण गर्नुभयो भन्ने मात्र जिज्ञासामा आधारित रहेर केही न केही रचना दिन अनुरोध गरें। कसैले आख्यान दिनुभयो। कसैले निबन्ध अनि कसैले संस्मरण दिनुभयो। उहाँहरुबाट जे पाएँ, त्यही सामग्रीलाई सम्पादन गरेर पुस्तकाकार रूप दिएको हुँ।

यसको अर्थ यसमा छापिएका सबै रचना कथा होइनन् भन्न खोज्नुभएको हो? 

हो। कोभिड–१९ का कथाहरू कुनै विधा विशेषमा केन्द्रित छैन। हामीले पढ्दै आएको आख्यान मात्र यहाँ छैन। कोरोना महामारीका बेला हरेक लेखकका भोगाइ र अनुभूति छन्। समग्रमा यो विश्व महामारीको कथा हो। कृतिमा चर्चित कथाकारहरु महेशविक्रम शाह, कुमार नगरकोटी, निर्मल थापा, रोशन शेरचन, किशन थापा अधिर, गोविन्द गिरी प्रेरणा का रचना पनि छन्। तर सबै रचना कथा होइनन्। 

पाठकले यो कृति किन पढून् भन्ने लाग्छ?

महामारीलाई नेपालका उत्कृष्ट लेखकहरूले कसरी भोगे? उनीहरूमा कस्तो अनुभूति भयो? समाजले यसलाई कसरी लियो। मानव सभ्यतामाथि यस्ता महामारीले कस्तो प्रभाव पार्दो रहेछ भन्ने प्रश्नको उत्तर बुझ्न यो कृति पढ्नैपर्छ। अर्को कुरा, व्यावसायिक लेखक र स्रष्टाहरूको आँखाबाट महामारीलाई कसरी हेरिएको रहेछ भन्ने जानकारी पुस्तकबाट हुनेछ। 

लेखन र सम्पादनमा कुन काम सजिलो रहेछ?

लेख्दा स्वतन्त्र भइन्छ। आफू घुमेको ठाउँ विशेष वा कृति पढ्दा मन परेको शैली वा पात्र विशेषबाट प्रभावित भइन्छ। त्यसपछि आफ्नै ढाँचाले लेख्ने हो। तर सम्पादन प्राविधिक काम हो। लेखकको मर्मलाई खुब ख्याल गर्नुपर्छ। अझ लेखक छनोट, सेटिङ, ले–आउट आदिमा विशेष ध्यान दिनुपर्छ। त्यसैले सम्पादन आफैंमा कठिन हो। 
 

प्रकाशित: Oct 03, 2020| 02:24 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।