भैरहवा– असोज १९ गते बस्नेगरी प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ।
आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला मन्त्री कुलप्रसाद के.सीले प्रदेशको स्थायी राजधानी र नामसम्बन्धी प्रस्ताव पेश गरेका थिए।
प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदानी भाग, राप्ती उपत्यका (देउखुरी) प्रस्ताव गरिएको छ।
यसैगरी शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै प्रदेशको नाम लुम्बिनी प्रदेश नामाकरण गर्ने प्रस्ताव संसदमा दर्ता भएको छ।
मन्त्रीले प्रदेश राजधानी र नामको प्रस्ताव संसदमा पेश गरेलगत्तै विपक्षी दलका सांसदहरुले भने उठेर विरोध गरेका थिए। प्रदेश राजधानी र नामाकरण हचुवाको भरमा गर्न लागिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए।
त्यसलगत्तै सभामुखले बैठक आजलाई स्थगित भएको भन्दै अर्को बैठक असोज १९ गते बस्ने निर्णय सुनाएका छन्।