काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर १९ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले भेटेका छन्।
आज बिहान उनले केसी अनशन बसिरहेको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएर भेटेका हुन्।
डा. यादवले डा. केसीको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुका साथै उनले उठाएका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने बताए।
संयोगवश विश्व अहिंसा दिवसको दिन सत्याग्रही केसीलाई भेट्न पुगेका डा. यादवले गोविन्द केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिए।
केसीजस्ता अभियन्ता देशलाई चाहिने उनको भनाइ थियो। केसीका माग सम्बोधन गर्न उनले सरकारसँग आग्रह गरे।
केसीको अनशनमा आफूले यसअघि पनि ऐक्यवद्धता जनाएको उनले स्मरण गरे। यसपटक केसीको स्वास्थ्य अत्यन्तै चिन्ताजनक अवस्थामा पुगेको भन्दै उनले राष्ट्रको अमूल्य सम्पत्ति केसीलाई बचाउन आग्रह गरे।
जनताको मागबाहेक केसीको अन्य स्वार्थ नभएको डा. यादवको भनाइ थियो।