खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वडा नं १४ बुइपाका १०३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको छ।
नगरपालिकाभरिकै सबैभन्दा ज्येष्ठ नागरिक नेपालीलाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले दोसल्ला ओढाएर नगद २० हजारसहित सम्मानपत्र प्रदान गरेका हुन।
नेपालीलाई सम्मान गर्न नगरप्रमुख रिजालको टोली बिहीबार बुइपास्थित नेपालीको घर दम्कु पुगेको थियो। शारीरिकरूपमा अझै पनि सक्रिय रहेका नेपाली १०० वर्ष नाघेपछि उनलाई सामाजिक सुरक्षाभत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडा कार्यालयले जानकारी दिनएको छ।
ज्येष्ठ नागरिक नेपालीले कान कम सुने पनि उनी अझै स्पष्ट बोल्न र देख्न सक्ने अवस्थामा रहेको वडाध्यक्ष राईले बताए। ‘उहाँ यो उमेरमा पनि क्रियाशील हुनुहुन्छ । उहाँलाई अहिलेसम्म खास रोग पनि देखिएको छैन,’ उनले भने,‘नृत्यकर्म आफैँ गर्नुहुन्छ । हिँडडुलदेखि घरका सामान्य कामसमेत सघाउने गर्नुहुन्छ ।’
विसं १९७५ वैशाख १५ गते जन्मिएका नेपालीलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि दोसल्ला ओढाएर सम्मान गरेको थियो।