शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘मिर्गाैला बिक्रीमा छ...’ भन्दै विज्ञापन गर्नेलाई पछ्याउँदा 

‘मिर्गाैला बिक्रीमा छ...’ भन्दै विज्ञापन गर्नेलाई पछ्याउँदा 

बजारमा यतिबेला एउटा अर्को विज्ञापन देखिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको त्यो विज्ञापन हो– ‘मिर्गौला चाहिएमा सम्पर्क ९८४९..!’
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– ‘जुम्लाको अर्ग्यानिक स्याउ चाहिएमा, इलामको तीनपाते चिया मगाउनुपरेमा, कोठा भाडामा लिनुपरेमा, घरमै डाक्टरको सेवा चाहिएमा वा आँखादान गर्नुपरेमा फलानो नम्बरमा सम्पर्क गर्नुस्’ भन्ने विज्ञापन त सामान्य हुन्।  

बजारमा यतिबेला एउटा अर्को विज्ञापन देखिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको त्यो विज्ञापन हो– ‘मिर्गौला चाहिएमा सम्पर्क ९८४९..!’ काठमाडौंका अस्पताललगायतका कतिपय ठाउँमा यो विज्ञापन हस्तलिखित रूपमै टाँसिएको छ। 

कानुनले बन्देज गरेको यस्तो विज्ञापनले आमनागरिकको जस्तै हाम्रो पनि ध्यान केन्द्रित नगरी रहन सकेन। सम्पर्क गर्‍यौं र हामी भेट्न पुग्यौं, मिर्गौलाका विज्ञापनकर्तालाई।  

बुधबार दिउँसो बल्खुमा बयोधा अस्पतालको बाहिरपट्टि भेटिए मिर्गौला बिक्रीका विज्ञापनकर्ता कैलालीको धनगढी उपमहानगरपालिका १७ का ३२ वर्षीय जगदिर गुरधामी।

गुरधामीको दाबी अनुसार यो विज्ञापन उनले व्यवसाय प्रवर्धनका लागि गरेका होइनन्, न कुनै चर्चाका लागि गरेका हुन्।

यद्यपि मिर्गौलाको कारोबार गैरकानुनी हो भन्ने उनलाई थाहा छैन। उनले भने, ‘के कानुनी, के गैरकानुनी हो मलाई थाहा छैन, मेरो समस्या टर्नुपर्‍यो। कानुनले त मेरो समस्या टारिदिन्न नि!’

आखिर मिर्गौला नै बेच्नुपर्ने दिन किन आइलाग्यो? ‘गरिबी’, उनले आफ्नो दिनदशाको बेलिविस्तार लगाउन थाले। 

०० 
२५ वर्षको उमेरमा गुरधामी वैदेशिक रोजगारीका लागि कतार पुगे। त्यहाँ सोचेजस्तो कमाइ भएन। जेनतेन दुई वर्षपछि उनी स्वदेश फर्किए। 

काठमाडौंमा आएपछि घर जान पनि मुस्किल भयो। एकातिर परिवारको कमजोर आर्थिक अवस्था, अर्कोतिर विदेश जाँदा लागेको ऋणसमेत डल्लै बाँकी थियो। असमञ्जसको अवस्थामा काठमाडौंमै उनको भेट धादिङकी एक युवतीसँग भयो। मन मिल्यो, माया बस्यो। बिहे गरे।

‘उनीसँग विवाह गरेपछि म घर पनि गइनँ,’ गुरधामीले भने, ‘काठमाडौं कीर्तिपुरमा किराना पसल र मासु पसल सञ्चालन गरें।’

सरसापट गरेर चलाएको सानोतिनो व्यवसायले गुजारा चलेकै थियो। अवस्था ठिकठाक हुँदै गयो। 

किराना पसलको कमाइले विदेश जाँदा, बिहे गर्दा र व्यवसाय गर्दाको ऋण तिर्न त पुगेन। सोचेजति कमाइ नभएपछि उनले एयरपोर्टअगाडि खाजा पसल चलाउन थाले। 

‘पसलको आम्दानी बढ्यो भने ऋण तिराै‌ंला भन्ने थियो,’ उनले भने, ‘ऋण तिर्न सकेको थिइनँ। बचाउन सकेको पैसा श्रीमतीलाई दिन्थें।’

अब त स्थिति सुधार होला भन्ने बडो आस थियो। समय सोचेजस्तो कहाँ हुँदो रहेछ र? एकाएक एक दिन उनकी श्रीमतीले छाडेर हिँडेको उनी सुनाउँछन्।  यद्यपि, उनकी श्रीमतीलाई सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन।

ऋण तिर्न नसक्दाको सकस छँदै थियो। यही बीचमा कोरोना कहर सुरु भयो। गुरधामीको पीडामा नुनचुक थपियो। 

कोरोनाका कारण गरिएको लकडाउनले हातमुख जोर्नसम्म पुग्ने पसल पनि बन्द गर्नुपर्‍यो। 

कोठाभाडा नतिरेको चार महिना भयो। 

पसलको भाडाबापत त उनले घरबेटीलाई सबै सामान जिम्मा लगाएर हिँडे। कोठाभाडा र ऋण तिर्न निरुपाय भएपछि उनी हायलकायल भए।  

‘मर्नुभन्दा बहुलाउनु ठिक भन्ने लागेर मैले मिर्गौला बेच्ने निर्णय गरेको हुँ,’ गुरधामीले भने। 

सम्पर्क नम्बरसहित सार्वजनिक ठाउँमा मिर्गौला बिक्रीको सूचना टाँस गरेका युवा गुरधामीसँग हामी गफिँदाको आधा घन्टामा दर्जनौं फोन आइरहेका थिए। 

 कसैले मिर्गौला बेचेर पैसा आउँछ भनिदिएकै भरमा यति जटिल निर्णय गरेको बताए।  

‘कसैले पाँच लाख पाइन्छ भनेका छन्। कसैले १० लाख पनि पाइन्छ भनेका छन्। कोही ५० हजार मात्रै पाउँछस् भन्छन्,’ उनले भने, ‘मैले आर्थिक अवस्था कमजोर भएकै कारण यस्तो सोच बनाएको हुँ। १० लाख आइदिए गजबै हुन्थ्यो।’ 

मुलुकको कानुनले मिर्गाैला किनबेच गर्न दिँदैन। यो त गैरकानुनी काम हो नि?

उनले जवाफ दिए, ‘म त्यति धेरै जान्ने भए, कानुन थाहा भए यस्तो अवस्थामा हुन्थें र! मेरो ऋण कुन कानुनले तिरिदिन्छ? मेरो भाडा तिर्न कुन कानुन आयो?’ 

उनको फोनको घण्टी बज्यो। 

‘तपाइँ कहाँ हुनुहुन्छ?’ ‘बल्खु प्रहरी बिट नजिक छु’, उनले फोनमा भने। 

फोनमा बोल्ने मानिसले ३० मिनेटमा आइपुग्ने जानकारी गराए। पर्खन भने। त्यो फोन कसको थियो उनलाई नै थाहा छैन। 

तर, उनलाई जतिले फोन गर्थे मिर्गौला किन्नकै लागि गरिरहेको आसय बुझिन्थ्यो।  

फेरि फोनको घन्टी बज्यो। उनले उठाउनेबित्तिकै ‘तपाइँ मिर्गौलाको प्रचार गर्ने सर होइन?’ भन्दै सोधियो। 

त्यो आवाजले मिर्गौला पाइन्छ? कतिमा बेच्नुहुन्छ? जस्ता प्रश्न सोध्यो। 

उनले पाइहाल्छ नि सर भन्दै जवाफ फर्काए। 
कुन ठाउँमा पाइन्छ? भन्ने प्रश्नमा  उनले ‘मेरो आफ्नै मिर्गौला बेच्न लागेको’ भनेर जवाफ फर्काए। 

मूल्य सोध्दा उनले रेट त आफूलाई थाहा नभएको जवाफ दिए। 

‘साहुहरुले पैसाका लागि फोन गर्छन्, फोन अफ गरेर निदाउन खोज्छु,’ उनी भन्छन्, ‘तर समस्याको घण्टीले सुत्न दिँदैन।’

ऋण लागेपछि घरपरिवारले समेत उनलाई वास्ता गर्न छाडेको छ। घरमा नआउन भन्छन्। गाउँमा उनको घरपरिवार ऐलानी जमिनमा घर बनाएर बसेको छ।  

परिवारको आर्थिक अवस्था कमजोर छ। विदेशबाट फर्किएपछि झन् सम्बन्धै टाढा भएको छ। साथ दिएकाले साथ छोडेर हिँडे। आर्थिक अवस्थाले झनै च्याप्दै लग्यो। आफन्तसित सम्बन्ध नभएपछि गर्ने के? 

‘ऋण लिएकाहरुले हरेक दिन फोन गरेर तनाव दिन्छन्, कति जनाको त मैले फोन नै उठाएको छैन’, उनले भने, ‘मैले नतिर्ने वा बेइमान गर्ने सोचले फोन नउठाएको होइन। उपाय नलागेपछि के गर्नु? मिर्गौला बेच्न पाए सबैको ऋण तिरिदिन्थें।’ 

हामीले जगदिरको अवस्थाबारे बुझ्न उनका दाइ पर्ने कैलालीकै धनबहादुर गुरधामीसँग फोनमा कुरा गर्‍यौं।  धनबहादुरले जगदिर केही वर्षदेखि घरपरिवारको सम्पर्कमा नै नरहेको बताए।

‘काठमाडौंमा बस्छ भन्ने मात्रै छ। परिवारसँग सम्पर्क छैन’, उनले टेलिफोनमा भने, ‘घरमा पहिलो श्रीमतीबाट जन्मिएका एक छोरा र एक छोरी छन्। यहाँ उनीहरूको बिचल्ली छ।’ 

जगदिर वैदेशिक रोजगारीका लागि बाहिर गएको र फर्केपछि फेरि केही समय भारतको बैङ्लोरमा पनि बसेको उनले जानकारी दिए। 

‘बुवाआमा र दाइभाइ ऐलानी जग्गामा बस्छन्,’ धनबहादुरले भने, ‘ऋण लागेका कारणले पनि होला ऊ सम्पर्कमा नआएको।’

काठमाडौंमा दोस्रो बिहे गरेको महिलाले पनि जगदिरलाई छोडिसकेको सम्म आफ्नो जानकारी रहेको धनबहादुरले बताए। उनले भने, 'त्यसपछि व्यवसाय डुब्यो र उतै छ ।'

‘सूचना गैरकानुनी’

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी देबबहादुर बोहरा मिर्गौला किनबेच गैरकानुनी भएको बताउँछन्। उनले भने  'मिर्गौला चाहिएमा भन्दै सम्पर्क नम्बरसहित सूचना टाँसेको जानकारी हामीलाई पनि आएको छ,’ उनले भने, ‘अनुसन्धान गरिरहेका छौं। ती युवक कैलालीका हुन् भन्ने जानकारी आएको छ।’

मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेधित) ऐन २०५५ अनुसार मिर्गाैला खरिदबिक्री गर्न पाइँदैन। ऐनको दफा १४ ‘क’ मा अंग दान दिन सक्ने अवस्था दुईवटामात्रै छ ।

एउटा बिरामीको नातेदार हुनुपर्छ। अर्को दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा नजिकको नातेदारको अंग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र प्रत्यारोपण गर्न खोजिएको अंग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्का परिवारको सदस्यले मात्र दान गर्न पाउँछ।

ऐन विपरीत अंग झिक्ने वा त्यस्तो कार्यक्रममा संलग्न रहेको व्यक्तिलाई ५ वर्ष कैद र ५ लाख जरिवाना हुने व्यवस्था छ।

नेपालमा मिर्गौलालगायत मानव अंगको गैरकानुनी रुपमा बिक्री वितरण हुने गरेका घटना नहुने भने हाेइनन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले केही समयअघि मिर्गौला किनबेच तथा बिक्रीवितरणमा संलग्न भएको आरोपमा ललितपुरको निदान अस्पतालका सीईओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको थियो। नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा उनीहरु पक्राउ परेका थिए।  

त्यस्तै प्रहरी, डाक्टर, वडाध्यक्षसहितको मिलोमतोमा गलत नाता प्रमाणित गरेर मिर्गौला प्रत्यारोपण गरिएको घटना सार्वजनिक भएको थियो। 

ललितपुर महानगरपालिका–३ का वडाध्यक्षसहितको मिलोमतोमा २७ जेठ २०७६ मा कलेज अफ मेडिकल साइन्सेन्स टिचिङ हस्पिटल भरतपुरमा ललितपुरका एक व्यक्तिले मिर्गौला प्रत्यारोपण गरेका थिए।  

प्रकाशित: Oct 01, 2020| 13:38 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।