सुर्खेत– सुर्खेतमा मंगलबार मृत्यु भएकी एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणले आज संक्रमण भएको पुष्टि गरेको हो।
भेरीगंगा नगरपालिका वडा नं. २ की ३५ वर्षिया ती महिला असोज १३ गते वीरेन्द्रनगर–११ पीपीरास्थति कोठामा मृत भेटिएकी थिइन्। मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो।
पोष्टमार्टम गर्नुअघि उनको कोरोना परीक्षण गरिएको थियो। सोही दिन उपचारका क्रममा उनका श्रीमानको समेत मृत्यु भएको थियो। श्रीमानको यसअघि नै दाहसंस्कार गरिसकिएको छ। ती महिलाको भने आजमात्रै दाहसंस्कार गरिने भएको छ। सुरक्षाकर्मीको समन्वयमा दाहसंस्कार गरिने मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जानकारी दिए।
योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ। यसअघि मृत्यु भएका सुर्खेतका दुई, दैलेखका तीन र डोल्पाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।