काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अनशनरत डा. गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
अनशनरत डा. केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका उनले सरकारले गरेको वेवास्ताप्रति आफू लज्जित भएको बताए। डा. भट्टराईले भने, ‘हामी साँच्चै लज्जित छौँ, लज्जित भएर तपाईको मागप्रति ऐक्यवद्धता जनाउन आएका हौँ।’
डा. केसीको मागलाई सरकारले बेवास्ता गरेको भन्दै उनले एजेण्डाहरु सबै ठिक छ भने असहमति जनाउनुपर्ने कारण नभएको बताए। ‘विवेक भएकालाई आग्रहले असर गर्छ, विवेकहिनलाई के असर गर्छ र ?’, उनले भने।
सरकारले अझै केही पनि गरेको छैन है ? भन्दै उनले प्रश्न गरे।
बाबुराम भट्टराईसँगै अस्पताल पुगेकी हिसिला यमीले डा. केसी एक्लैले चालेको कदम सम्मानजनक भएको भन्दै यो कदमले राजनीतिक पार्टी लज्जित हुनुपर्ने बताइन्।