भैरहवा– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको आर्थिक वृद्धिदर ९.५ पुर्याउन चुनौती रहेको बताएका छन्।
उनले बुधबार विकास साझेदारहरुसँगको छलफलमा प्रदेशको आवधिक योजनाअनुसार विकासलाई गति दिन पनि कठिन रहेको बताए।
मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, खानेपानीमा पहुँच, स्वास्थ्य सेवा विस्तार, कृषिमा व्यावसायीकरण र पर्यटन पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता रहेको बताए।
प्रदेश योजना आयोगका सदस्य विष्णु गौतमले प्रदेश सरकारको योजना, कार्यक्रम, सम्भावना र अवसरबारे प्रस्तुति दिएका थिए।
बैठकमा सहभागी विकास साझेदारका तर्फबाट विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हडाडजरभस, अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक रिचार्ड हवार्ड, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोएस भेन्लर, नेपालका लागि स्विजरल्यान्डका राजदूत एलिजाबेथ क्यापलर, बेलायती सहयोग नियोग (डीएफआर्इडी) प्रमुख लिसा होनान, एसियाली विकास बैंका प्रमुख अर्थशास्त्री शरद भण्डारी, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी आवासीय प्रतिनिधि आएसईि लबे लगायत सहभागी थिए।
प्रदेश ५ सरकारका प्रेस सल्लाहकार शेरबहादुर केसीले प्रदेश सरकारको योजना, कार्यक्रम र प्राथमिकतामा विकास साझेदारसँग सहकार्य बढाउने उद्देश्यले छलफल गरिएको जानकारी दिए।