काठमाडौं– कोरोना परीक्षणमा बढी शुल्क लिने प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसो नगर्न चेतावनी दिएको छ।
८ वटा प्रयोगशालाले सरकारले तोकेको भन्दा बढी पीसीआर परीक्षणको शुल्क लिएको भन्दै एकपटकलाई चेतावनी दिएको हो।
गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदनअनुसार ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, मेडिसिटी अस्पताल, सिडिएल, स्टार अस्पताल, वि एण्ड वि अस्पताल र सूर्या हेल्थ केयरले सरकारले तोकेको भन्दा बढी मैल्यमा पीसीआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती ल्यावहरुलाई २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरेमा प्रयोगशालाको स्वीकृति खारेज गरी पत्राचार गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको छ।
सरकारले भदौ २८ गतेदेखि नै पीसीआरको शुल्क तेस्रोपटक घटाउँदै अधिकतम २ हजारसम्म तोकेको छ। सो भन्दा बढी शुल्क लिने गरेका प्रयागशालालाई कालोबजारी गरेको आधारमा प्रयोगशाला नै बन्द गर्नेगरी गृह मन्त्रालय र वाणिज्य विभागलाई कारबाहीका लागि पत्र पठाइने प्रवक्ता डा. गौतमले जानकारी दिए ।
साथै राष्ट्रिय परीक्षण मापदण्ड अनुसार परीक्षणको मापदण्डमा नपरेका व्यक्तिको परीक्षण गर्ने गराउने वा सूचीकृत नभएको प्रयोगशाला वा विचौलियाका रुपमा कुनै पनि व्यक्ति वा संघसंस्थाले कोरोना परीक्षणको लागि नमुना लिने गरेको पाइएमा छानबिन गरी कारबाहीका लागि प्रकृया अगाडि बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय भएको उनले बताए।