काठमाडौं- घुस दिएर त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा सर्वोत्कृष्ट भएका सुरेन्द्रप्रसाद कोइरालालाई विशेष अदालतले १४ महिना कैद र चार लाख ५७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।
कोइरालाले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकायतर्फको स्नातकोत्तर गोप्य शाखाका शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई एक लाख ५० हजार रुपैयाँ घुस दिएर आफ्नो प्राप्तांक बढाउन लगाएका थिए।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थशास्त्र स्नातकोत्तरमा स्वर्ण पदक ल्याउने उद्देश्यले अंक थप गराई प्रथम श्रेणीमा उत्तीर्ण गरेको भन्दै मुद्धा दर्ता गराएको थियो।
कोइरालाले एमए ग्रामीण विकासको परीक्षामा पनि त्यसैगरी नम्बर थप्न लगाएर प्रथम श्रेणी प्राप्त गरेका थिए भने एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित हुँदाहुँदै पनि उत्तीर्ण भएका थिए।
कोइरालाले एमएमा अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थप गर्न लगाएर कुल २२४ अंक थप गराएका थिए।
त्यसका लागि कर्मचार्यलाई एक लाख ५० हजार घुस खुवाएका थिए।
विशेषका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले १३ असोजमा सजाय र जरिवानाको फैसला गरेको विशेष अदालतका उपसचिव पुष्पराज पाण्डेले जानकारी दिए।
उनका अनुसार अदालतले परीक्षा नियन्त्रण कार्यालय बल्खुमा गोप्य शाखामा कार्यरत रामबहादुर कर्माचार्यलाई ११ महिना कैद र १ लाख ५५ हजार रूपैयाँ जरिवानाको आदेश दिएको छ।
कर्मचार्यले केदार भट्टराईबाट पनि तीन लाख घुस लिएर उनको एमए अर्थशास्त्र संकायको पाँच वटा विषयमा १०र१० नम्बरको दरले ५० अंक थप गरिदिएका थिए। विशेष अदालतले भट्टराईलाई ११ महीना कैद र तीन लाख ५ हजार रूपैयाँ जरिवानाको आदेश दिएको छ।