काठमाडौं– मलेसियामा कार्यरत दाङका एक नेपालीलाई बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौती लिने एकजना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मलेसियामा मध्य रैदासलाई बन्धक बनाएर फिरौती रकम असुल गर्ने व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो।
मोरङ स्थायी घर भई मलेसियास्थित टप ग्लोबल कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने वर्ष ४४ को डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौंमा सीआइबीले पक्राउ गरेको हो।
श्रेष्ठकी श्रीमती धनमाया श्रेष्ठ र चालक श्याम नेपालीसमेतले मलेसियामै काम गर्ने दाङ घर भएका मध्य रैदासलाई अपहरण गरी ७ दिन बन्धक बनाई फिरौती रकम असुल गरेको खुलेको छ।
पीडितकी श्रीमतीलाई मलेसियाको नम्बरबाट फोन गरी निज श्रेष्ठको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट पठाए मात्र श्रीमानको ज्यान जोगिने नत्र मारिदिने समेतका धम्की दिइएको थियो।
पीडितकी श्रीमतीले फिरौती बापतको १५ लाख ९२ हजार रकम निज श्रेष्ठको खातामा पटकपटक गरी जम्मा गरेकी थिइन्।
त्यसपछि मात्र अपहरित व्यक्तिलाई अपहरण मुक्त गरिएको थियो। तर, पीडित व्यक्तिको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाएर राखिएको भन्दै श्रीमतीले केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन्।
बन्धक बनाएर फिरौती रकम लिने व्यक्ति दुर्गाबहादुर श्रेष्ठ नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं महानगरपालिका ३ कान्तीवाल अस्पतालस्थित सकडमा बा १४ च २११२ नम्बरको जिपमा चढेर बाँसवारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
निज श्रेष्ठले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरूलाई धम्क्याएर रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्दै आएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठले अन्य व्यक्तिहरूलाई समेत रैदासलाई जस्तै बन्धक बनाउने, फिरौती रकम असुल्नेलगायतका कामहरू गर्दै आइरहेको देखिएको छ।