विराटनगर–विराटनगर क्षेत्र भित्र सञ्चालनमा रहेका पाँचवटा स्यानिटाइजर उद्योगमा अनुगमन गरिएको छ ।
अनुगमन टोलीले विराटनगर–१५ मा रहेको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सको उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएको छ।
गुणस्तरहीन र मानव स्वास्थ्यका लागि हानिकारक स्यानिटाइजर उत्पादन भएको आशंकामा बजारमा लैजान र उपभोक्तालाई बिक्री वितरण गर्न रोक लगाइएको हो।
सो कम्पनीको स्यानिटाइजर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाउन उत्पादित नमुना संकलन गरिएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव कट्टेलले बताए।
परीक्षण रिपोर्ट आइसकेपछि गुणस्तरहीन र प्रयोग गर्न योग्य नभएको पाइएमा थप कारबाही हुने उनको भनाइ छ।
कट्टेलका अनुसार सेनिटाइजर उत्पादन गर्ने सो उद्योग विभागमा सूचीकृत छैन र उत्पादनको जानकारी पनि दिइएको छैन।
जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, औषधि व्यवस्था विभाग र उपभोक्ता अधिकारवादी संस्था पब्लिक फोरमको संयुक्त टोलीले मंगलबार स्यानिटाइजर उत्पादन गर्दै आएका रिजालको, हिमगिरी, कस्यव ऋषि आयुर्वेद, ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्स र एक महिनाअघि विभागले बन्द गराएको पपुलर उद्योगको अनुगमन गरेको हो।
विभागले स्वास्थ्यमा जोखिम निम्तने स्यानिटाइजर उत्पादन गरिरहेको सुनसरीको भोक्राहानर्सिङ गाउँपालिकामा रहेको सीता हर्बल प्राइभेट लिमिटेडलाई पनि दुई साताअघि बन्द गराएको थियो।
घरको कोठाभित्र सञ्चालन गरिएको उक्त उद्योगले स्वास्थ्यमा असर गर्ने मिथाइलेटेड स्प्रिट प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरिरहेको पाइएको कट्टेलले बताए।
उनका अनुसार इथाइल र आइसोप्रोपायल अल्कोहल तोकिएको मात्रा प्रयोग गरेर स्यानिटाइजर बनाइन्छ।
यसअघि विभागले इटहरीको शौर्य केमिकललाई पनि कारबाही गरेको थियो। त्यस्तै झापाको दमकमा औषधि पसलबाट स्यानिटाइजर उत्पादन भइरहेको पाइएपछि बन्द गरिएको थियो।