शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज विश्व मुटु दिवस : यस्तो छ मुटु र मिर्गौलाको सम्बन्ध

आज विश्व मुटु दिवस : यस्तो छ मुटु र मिर्गौलाको सम्बन्ध

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २६ लाख नेपाली कुनै न कुनै रूपमा मुटुको समस्याबाट पीडित छन्। ७५ लाख नेपालीमा उच्च रक्तचापको समस्या छ।
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

हरेक वर्ष २९ सेप्टेम्बरमा विश्व मुटु दिवस मनाइन्छ। १९९९ मा विश्व स्वास्थ्य संगठनसँग मिलेर विश्व मुटु महासंघले यो दिवस मनाउन थालेको हो।

सुरुमा सेप्टेम्बर अन्तिम आइतबार मनाउने गरिएको मुटु दिवस २०१२ देखि २९ सेप्टेम्बरमा मनाउन थालिएको हो। नेपालमा पनि आज ‘मन लगाऔं, मुटु बचाऔं’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदै छ। 

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २६ लाख नेपाली कुनै न कुनै रूपमा मुटुको समस्याबाट पीडित छन्। ७५ लाख नेपालीमा उच्च रक्तचापको समस्या छ। मुटु रोगका कारण बर्सेनि एक करोड ७५ लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। 

मुटु र मिर्गौला दुवै संवेदनशील अंग हुन्। यी दुई अंगबीच कस्तो सम्बन्ध हुन्छ त? यसबारे चितवन मेडिकल कलेजका मिर्गौला रोग विशेषज्ञ अरुण सेढाईं भन्छन्-

१. मुटुले रगत पम्प गर्छ भने मिर्गौलाले रगतबाट फोहोर पदार्थ छानेर सफा पार्छ। मुटुले पम्प नगरे मिर्गौलामा रगत अभाव हुन्छ। मिर्गौलाले फिल्टर नगरे मुटुमा भार पर्छ।

२. हाम्रो शरीरमा सालाखाला पाँच लिटर रगत हुन्छ। आराम गरेको बेलामा मुटुले एक मिनेटमा यो सबै रगतपम्प गरिरहेको हुन्छ, जसलाई ‘कार्डियाक आउटपुट’ भनिन्छ। यसमध्येको कम्तीमा पनि २० प्रतिशत रगत मिर्गौलामा पुग्नैपर्ने हुन्छ। आकारका हिसाबले मिर्गौला सानो हुन्छ, जसको तौल  १३५ देखि १५० ग्राम जति मात्र हुन्छ। तर यसले एक दिनमा १८० लिटर रगत छानेर शुद्ध बनाउँछ।

३. मिर्गौला शरीरमा रक्तचाप नियन्त्रण गर्ने महत्त्वपूर्ण अंग हो। रगतको मात्रा मिलाएर होस् वा रक्तनलीको संकुचन वा फैलावट गराएर होस्, मिर्गौलाबाट निस्कने ‘रेनिन’ भन्ने पदार्थले रक्तचाप नियन्त्रण गरिरहेको हुन्छ। रक्तचाप नियन्त्रण नभएमा यसको प्रत्यक्ष असर रक्तनली र मुटुमा पर्छ। 

४. क्षणिक रुपमा मिर्गौला खराब हुने अवस्थालाई मिर्गौलाघात भनिन्छ। यसको एउटा महत्त्वपूर्ण कारण मुटुरोग वा हृदयाघात हो। मुटुले राम्रोसँग रगत पम्प गर्न सकेन भने मिर्गौलामा रगत पुग्न पाउँदैन र मिर्गौलामा समस्या उत्पन्न हुन पुग्छ। 

५. धेरै समयसम्म मिर्गौला खराब हुँदा रक्तअल्पता हुन सक्छ भने रक्तअल्पताले मुटुरोगको सम्भावना ज्यादा हुन्छ। 

६. मुटुरोग र मिर्गौला रोगका कारण उस्तै–उस्तै छन्। जस्तै– मधुमेह, उच्च रक्तचाप, खराब कोलेस्टेरोल वृद्धि आदि। समयमै पहिचान र निराकरण गर्न सकिएमा मुटु र मिर्गौला रोगबाट बच्न सकिन्छ।

७. शरीर चलायमान राख्न सके मुटु र मिर्गौला दुवैलाई प्रत्यक्ष फाइदा पुग्छ।

प्रकाशित: Sep 29, 2020| 05:52 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।