काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली कडाइ गरेको छ। सवारीसाधनको चाप अत्यधिक बढेपछि ट्राफिक प्रहरीले आज मंगलबारदेखि यसमा कडाइ गरेको हो।
उपत्यकामा सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू नै छ। तर, सर्वसाधारणले जोरबिजोर प्रणालीको बेवास्ता गर्दै सवारीसाधन सञ्चालन गर्न थालेपछि बिहानैदेखि ट्राफिक प्रहरी आक्रामक रुपमा लागू गर्न खटिएको हो।
‘जोरबिजोरको उल्लघंन गर्दै सवारीसाधन अत्यधिक सञ्चालन भइरहेको देखियो,’ महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘त्यसैले आजदेखि कडाइ गरेका हौं।’
महाशाखाका अनुसार बिहानदेखि दिउँसोसम्म करिब ११ सय सवारीसाधन नियन्त्रणमा लिइएको छ। सबैभन्दा धेरै मोटरसाइकल नियन्त्रणमा राखिएका छन्।
२५ भदौदेखि उपत्यकाका तीनवटै जिल्लामा जोरबिजोर प्रणाली लागू गरिएको छ। नियमानुसार जोर–बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई प्रहरीले ‘होल्ड’मा राख्ने गरेको छ। प्रहरीले साँझ मात्रै होल्ड गरिएका सवारीसाधन छाडिने बताएको छ।
१ असोजदेखि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय गरेपछि चहलपहल धेरै बढेको छ। सर्वसाधारणले पनि जोरबिजोरको नियम नमान्ने र ट्राफिक प्रहरीले पनि चेकजाँच खुकुलो पारेपछि केही दिनयता उपत्यकाका सडकमा सवारी चाप ह्वात्तै बढेको थियो।