शनिबार, भदौ १३, २०८३

बस्तीमा पसेर हैरान बनाएपछि अब बाँदरलाई वनमै फलफूल !

बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वनमै  फलफूल रोप्न सुरु गरेको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

महोत्तरी– बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वनमै  फलफूल रोप्न सुरु गरेको छ। 

जिल्लाको बर्दिवास नगरपालिका १ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण सुरु गरेको हो। 

यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार पाँच सय फलफूलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताए। 

‘वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्,’ अध्यक्ष न्यौपानेले भने, ‘हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण सुरु गरेका हौँ ।’ 

यसपालि अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार पाँच सय बिरुवा रोपिएको न्यौपानेको भनाइ छ।

अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ।

नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताए। 

बर्दिवास १ को अति व्यस्त बर्दिवास चोकबाट पाँच सय मिटर मात्र उत्तरमा पर्ने यो वन क्षेत्र ४४ हेक्टरमा फैलिएको छ।

यसपालि बर्खामा लगाइएका फलका बिरुवा र गल्छी पहिरो रोकथामका लागि रोपिएका सात सय ५० झ्याङ बाँस सबै सरेर हलक्क बढेको न्यौपाने बताए।  

वन क्षेत्र हराभरा भएपछि मुख्य चोकको सौन्दर्य अझ बढेको बर्दिवासवासी बताउँछन्। 

समितिले वन सुरक्षाका लागि एक जना वन हेरालु नै नियुक्त गरेको छ। 

जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको न्यौपानेको जिकिर छ।

सुरक्षा प्रबन्ध राम्रो भएपछि वनक्षेत्र सघन र मनोरम बन्दै गएको नगरवासी बताउँछन्। 

एक दशकअघि नाङ्गो डाडाँ भनेर चिनिने यो वन क्षेत्रमा अहिले मयुर र अन्य चराच्रुङ्गी ह्वात्तै बढेका छन्। 

‘घर नजिकैको पाखामा मयुरका जोडी नाचेको देखिन्छ, थरीथरीका रङ्गीचङ्गी चरा फुरफुर गर्दै उडेका देखिन्छन्,’ वन नजिकैको बस्तीकी गृहिणी राधा गौतमले भनिन्।  

समितिको सकारात्मक प्रयत्नले प्रदेश–२ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पनि साथ पाएको छ। 

मन्त्रालयले गल्छी र पहिरो नियन्त्रणका उपाय अवलम्बन गर्न उपलब्ध गराएको २४ लाख ९५ हजारले वनक्षेत्रका तीनवटा खोल्सीमा चेकड्याम (छहरा बाँध) र एउटा पोखरी निर्माण भएको वन समितिकै उपभोक्ता रहेका बर्दिवास–१ का वडाध्यक्ष चूडामणि पोखरेल बताए। 

चिहानडाँडा वनउपभोक्ता समितिले वन क्षेत्रको सुरक्षा र सम्वद्र्धनमा नमूना काम गरिरहेको डिभिजन वन कार्यालय महोत्तरीको पनि मूल्यांकन छ।

 

प्रकाशित: Sep 29, 2020| 03:24 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।