पोखरा- जिल्ला प्रहरी कार्यालय तनहुँले ६६ वर्षभन्दा बढी कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान नै चलाएको प्रहरीले असारदेखि असोज पहिलो हप्तासम्म १२८ फरार प्रतिवादी पक्राउ गरेको छ।
पक्राउ परेका प्रतिवादीले अदालतबाट फैसला भएबमोजिम ६६ वर्ष २ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय तनहुँका नयाँ प्रहरी प्रमुख आएसँगै प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान शुरु गरेको थियो।
यस अवधिमा अदालतबाट फैसला भई फरार रहेका १२८ र अनुसन्धानका लागि ७ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार फैसला भई फरार रहेका प्रतिवादीमध्ये असारमा ६, साउनमा ४२, भदौमा ५२ र असोजमा २५ जना पक्राउ परेका छन्। त्यस्तै अनुसन्धानका लागि असारमा ३, साउनमा ३ र भदौमा १ जना पक्राउ परेका छन्।
पक्राउ परेका प्रतिवादीबाट २३ लाख ९५ हजार ८१ जरिवाना असुल भएको छ। ‘पक्राउ परेकामध्ये अधिकांश तोकिएको जरिवाना तिरेर छुटेका छन्, कैद सजाय भएका प्रतिवादीलाई भने कैद भुक्तानका लागि कारागार चलान गरिएको छ’, प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले भने, ‘कारागार चलान गरिएकाहरुबाट ६६ वर्ष २ महिना १३ दिन कैद भुक्तान हुन बाँकी छ।’
प्रहरीले फरार प्रतिवादी पक्राउ गर्नका लागि विशेष टोली नै बनाएको छ। कोभिड–१९ का कारण भएको बन्दाबन्दीले धेरैजसो घरमै रहेकाले पनि फरार प्रतिवादी पक्राउ गर्न सहज भएको प्रहरीको भनाइ छ।
‘गल्ती गरेपछि कारबाही भोग्नैपर्छ भन्ने सन्देश दिन प्रहरी सफल भएको छ’, तिमिल्सिनाले भने, ‘गल्ती गरेपछि कसैले उन्मुक्ति पाउँदैनन्।’ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवम् प्रहरी उपरीक्षक अरुण पौडेलले फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने बताए।
प्रहरीले असोज ४ गते एकै दिन २५ र भदौ २८ गते ३५ जना प्रतिवादी पक्राउ गरेको थियो। प्रहरीले नागरिकता कीर्ते, बहुविवाह, लागुऔषध, घरेलु हिंसा, फौजदारी, कुटपिट, जालसाजी लगायतका मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ।