शनिबार, भदौ १३, २०८३

दुर्गा घिमिरेलाई १ लाख राशिको समाजसेवा पुरस्कार

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

पोखरा– विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार यस वर्ष महिला बेचबिखन विरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील दुर्गा घिमिरेलाई प्रदान गरिने भएको छ।

समितिले प्रत्येक २ वर्षमा प्रदान गर्ने १ लाख १ हजार रुपैयाँ राशिको पुरस्कार यस वर्ष घिमिरेलाई प्रदान गर्ने निर्णय गरेको हो।

महिला बेचबिखनबिरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा विगत ४ दशकदेखि घिमिरेको योगदानको कदर गर्दै पुरस्कार दिने निर्णय भएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। यो पुरस्कार नेपालमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ।

प्रथम पटक २०७३ सालमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशी, दोस्रो पटक २०७५ मा गलेश्वर पिठाधीश स्वामी आत्मानन्द गिरीजी महाराजले यो पुरस्कार पाएका थिए। पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानबाट संस्थापित तथा समितिबाट सञ्चालित छ। पुरस्कारको अक्षयकोष १५ लाख रुपैयाँको छ।

समितिका कार्यवाहक अध्यक्ष पवित्रराज रेग्मीको संयोजकत्वमा साहित्यकार सरुभक्त, पूर्व प्रशासक बाबुराम आचार्य, संस्थापक प्रतिनिधि रविन्द्र प्रधान तथा समितिका सचिव तीर्थ श्रेष्ठ सदस्य रहेको समितिले महिला सशक्तीकरणको क्षेत्रमा निरन्तर क्रियाशील घिमिरेलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो।

‘घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ। उहाँको योगदानको कदर र यो क्षेत्रमा अरुलाई पनि लाग्न अभिप्रेरित गर्न यस वर्षको पुरस्कार घिमिरेलाई दिने निर्णय भएको छ,’ समितिका सचिव तीर्थले भने। कोभिडका कारण प्रदान गर्ने मिति तलमाथि भएको छ। पुरस्कार प्रदान गरिने मिति पछि तय गरिनेभएको छ।

२००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थशास्त्रमा एमए र १९७५ मा त्रिभुवन विश्वविद्यालयवाटै कानुनमा स्नातक गरेकी छिन्। २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील छिन्।

मानव अधिकार, चेलिबेटी बेचबिखनको विरुद्धको अभियानमा सबैभन्दा पहिला राष्ट्रिय रुपमा वहसको विषय बनाइ उठान गर्ने पहिलो व्यक्तिका रुपमा घिमिरे हुन्। २०४४ सालमा एबिसी नेपाल नामक गैरसरकारी संंस्थाको स्थापना गरी महिला बेचबिखन बिरुद्ध लागेकी थिइन्। घिमिरेले हालसम्म ३ हजार चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गरी उनीहरुको जीवन रुपान्तरण गर्न सफल भएकी छन्। 

महिला उत्थान लगायतका क्षेत्रमा उल्लेखनीय काम गरे वापत घिमिरेले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन्। घिमिरेले अधिकार क्षेत्रमा विभिन्न माध्यमबाट कलम पनि चलाउँदै आएकी छन्। 

प्रकाशित: Sep 28, 2020| 12:17 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।